काठमाडौं । भारतीय अटोमोबाइल ब्राण्ड महिन्द्राले नयाँ ‘न्यू फ्लेक्सिबल आर्किटेक्चर’ बनाएको छ । कम्पनीले भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसर पारेर आगामी अगष्ट १५ तारिखमा यसलाई सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले ल्याउन लागेको नयाँ प्लेटफर्म बहु-ऊर्जामा आधारित गाडी निर्माणको लागि प्रयोग हुनेछ । न्यू फ्लेक्सिबल आर्किटेक्चर मोनोकोक प्लेटफर्ममा आधारित छ । यसको प्रयोगबाट महिन्द्राले धेरै नयाँ मोडल उत्पादन गर्ने सहजै अनुमान गर्न सकिन्छ ।
नयाँ प्लेटर्फममा पेट्रोल, हाइब्रिड, डिजेल र ब्याट्री इलेक्ट्रीक भेहिकलहरु उत्पादन हुनेछन् । अहिलेसम्म कम्पनीले आधिकारीक जानकारी नदिएपनि नयाँ जेनेरेशन बोलेरो न्यू फ्लेक्सिबल आर्किटेक्चरमा बन्ने पहिलो मोडल हुनेछ ।
महिन्द्राले भने सन् २०२६ मा नयाँ प्लेटफर्म प्रयोग गरेर दुई मोडलको मिड-साइकल फेसलिफ्ट र एउटा पूर्ण नयाँ मोडल बजारमा आउने छ । तर, कम्पनीले कुनै पनि मोडलको नाम भने सार्वजनिक गरेको छैन ।
महिन्द्राले महाराष्ट्रमा रहेको आफ्नो चाकण प्लान्टमा १ लाख २० हजार न्यू फ्लेक्सिबल आर्किटेक्चरमा आधारित एसयूभी उत्पादन गर्ने योजना बनाएको छ ।
भारतीय बजारमा तिब्र बिस्तार भइरहेको महिन्द्रा ब्राण्ड भारत बाहिर पनि बलियो पकड बनाउन लागिरहेको छ । कम्पनीले साउथ अफ्रिका, नेपाल, अष्ट्रेलिया जस्ता देशमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएको छ ।