महिन्द्राको ईभी सर्भिसमा जोसिलो प्रयास, हरेक डिपार्टको लिडर महिला

काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेट प्रालिले सर्भिसमा नयाँ प्रयास गरेको छ । कम्पनीले विद्युतीय गाडीको सर्भिस गर्ने टिम नै महिलाहरूको तयार पारेको हो ।

‘लेडी टिम’ले सर्भिस प्रदान गर्ने सर्भिस सेन्टर भने स्वयम्भूमा रहेको छ । स्वयम्भूमा रहेको यातायात कार्यालयसँगै कम्पनीले विद्युतीय कार सर्भिस गर्ने सर्भिस सेन्टर तयार पारेको हो । करिब ३ रोपनी जग्गमा फैलिएको उक्त प्रोपटी भित्र सर्भिस सेन्टरसँगै वायर हाउस पनि संचालनमा रहेको छ ।

कम्पनीले विद्युतीय एसयूभी बीई सिक्स र एक्सईभी नाइन ई बजारमा ल्याएसँगै ‘डेडिकेटेड’ सर्भिस सेन्टर संचालनमा ल्याएको हो । कम्पनीले सबै टेक्नीकल टिम महिलाको तयार पारेर एउटा नमुना ‘सर्भिस सेन्टर’को रूपमा यसलाई विकास गरेको देखिन्छ ।

‘हामीले निकै मेहनत गरेर महिलाहरूको टिम तयार पारेका छौं । विभिन्न कम्पनीमा कार्यरत महिला टेक्नीसियनहरू छनोट गरेर टिम तयार पारिएको हो । उनिहरूलाई भारतमा महिन्द्राको सर्भिस इन्सिच्युटमा नै पठाएर ट्रेनिङ दिएका थियौं’, अग्नि इनकर्पोरेट प्रालिका चेयरम्यान क्याविनेट श्रेष्ठले मेरोअटोसँग बताए ।

महिन्द्राले अहिले सुरूमा ३ वटा बे तयार गरेको छ । जहाँ विद्युतीय साधन सर्भिसको लागि आवश्यक सम्पूर्ण इक्युपमेन्ट र पूर्वाधार दुरुस्त छ । काममा खटिएका टेक्नीसियनहरू पनि उच्च मनोबलका साथ काममा जुटेका छन् ।

‘अहिले दैनिक रूपमा गाडीको सर्भिसिङ सुरू भएको छ । उपभोक्ताले गाडी ल्याउन थालेका छन् भने नयाँ गाडीको पीडीआई पनि सुरू भएको छ । सुरूवाती दिनदेखि नै सबै महिला दिदीबहिनीहरू मात्रै भएको कारण हामी कामको लागि पनि निकै ‘एक्साइटेड छौं’, एक टेक्निकल इन्जिनीयरले भनिन् ।

गाडी वासिङमा लाने चालकदेखि वासिङमा काम गर्ने र टेक्नीसियनको रूपमा काम गर्ने सबै महिला नै छन् । त्यस बाहेक पार्ट्स डिभिजनदेखि एकाउन्ट डिभिजनसम्म महिलाकै काँधमा नेतृत्व छ ।

महिला सशक्तीकरणमा पनि यस्ता सर्भिस सेन्टर सहयोगी हुने अनुमान गर्न सकिन्छ । यसले उपभोक्तामा कस्तो सेवा प्रवाह गर्न सक्छ, त्यो हेर्न भने थप समय कुर्नै पर्ने हुन्छ । तर, त्यहाँ भेटिएका हरेक कर्मचारीको आत्मबल भने निकै उचो भएको हामीले पायौं ।


Back_to_top