सबैभन्दा सस्तो माइक्रो एसयूभी अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । आगामी महिना नेपाली बजारमा महिन्द्राको पछिल्लो माइक्रो एसयूभी ‘केयूभी १००’ को इलेक्ट्रीक मोडल बिक्री सुरु हुने जनाइएको छ । महिन्द्राका इलेक्ट्रीक गाडी अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले बिक्री वितरण गर्दै आएको छ ।

महिन्द्राले फेब्रुअरीमा भएको अटो एक्स्पो २०२० बाट यसलाई बजारमा उतारेको थियो । कम्पनीले केयूभी १०० लाई भारतमा बिक्री हुने सबैभन्दा कम मूल्यको इलेक्ट्रीक गाडीको रुपमा बजारमा ल्याएको हो ।

महिन्द्रा केयूभी १०० को रेगुलर मोडल नेपाली बजारमा विगतदेखि नै बिक्री वितरण हुँदै आइरहेको छ । यसमा रहेका अधिकांश फिचरहरु रेगुलर मोडलका जस्तै रहेका छन् ।

इन्टेरियरमा रेगुलर मोडलको तुलनामा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ भने एक्स्टेरियरमा हेडल्याम्प, टेल ल्याम्प र नयाँ ग्रिल दिइएको छ ।

गाडीको पावर हरेक चालकको लागि निकै महत्वपूर्ण हुन्छ । यसमा ४० किलोवाटको मोटर र १५.९ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । यसमा रहेको मोटरले ५३ बीएच पावर र १२० एनएम टर्क प्रदान गर्छ ।

घरायसी चार्जरले चार्जगर्दा ६ देखि ७ घन्टामा फुल चार्ज गर्न सकिने यो इलेक्ट्रीक कार एक पटकको फुल चार्जमा १२० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।

भारतमा ८ लाख २५ हजार भारु मूल्य कायम भएको यो गाडी नेपाल आउँदा कति पर्ला भन्ने चासो धेरैमा रहेको पाइन्छ । भारतमा खरिद मूल्यमा नेपाल ल्याउँदा अन्तःशुल्क १० प्रतिशत, सडक कर ४ प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर सरकारलाई तिर्नु पर्छ ।

यी सबै खर्च र अन्य विभिन्न आयात खर्च जोडेर कम्पनीले मूल्य निर्धारण गर्ने गर्छ । यस्तोमा कम्पनीले यसको मूल्य करिब २२ लाख भित्रै तोकेर बिक्री गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top