यस्तो छ महिन्द्रा ‘भिजन एस’को इन्टेरियर

काठमाडौं । महिन्द्राको बहुप्रतीक्षित नयाँ सब फोर मिटर एसयूभी ‘भिजन एस’को इन्टेरियरको जासुसी तस्बिरहरू बाहिरिएको छ । हाल भारतमा परीक्षण भइरहेकाे प्रोडक्सन मोडलको इन्टेरियरको तस्बिरहरू सार्वजनिक भएका हुन् ।

बाहिरिएका तस्बिरहरूमा यसको इन्टेरियर कम्पनीले यसअघि सार्वजनिक गरेको भिजन एसको कन्सेप्ट डिजाइनसँगै मिल्दोजुल्दो देखिएको छ । भिजन एसको एक्सटेरियर डिजाइन भने सन् २०२५ जुनमै बाहिरिएको थियो ।

भिजन एसको ड्यासबोर्ड र सेन्टर कन्सोल कन्सेप्ट कार अनुसारकै देखिन्छ । यसमा बाहिर निस्किएको कर्भ एचभीएसी भेन्ट, परम्परागत गियर लिभर र सेन्टर कन्सोलमा फिजिकल बटनहरू राखिएको छ ।

यसमा पुरानो शैलीको एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, सानो मल्टि–इन्फर्मेसन डिस्प्ले (एमआईडी), कपडाको सिट आवरण, हातैले मिलाउनुपर्ने एसी डायल देखिन्छन् । यी फिचरले यो एसयूभी बेस वा मध्यम भेरियन्टको हुन सक्ने संकेत गर्छन्।

महिन्द्रा भिजन एसमा पूरै लम्बाइको प्यानोरामिक सनरुफ राखिएको छ ।यद्यपि यो निश्चित गिलास युनिट हो वा आंशिक रूपमा खुल्छ भन्ने कुरा स्पष्ट छैन।

साथै, टचस्क्रीन इन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, पछाडिको बीचको आर्मरेस्ट, म्यानुअल ह्याण्डब्रेक, चारैतिर मिलाउन मिल्ने हेडरेस्ट र सबै यात्रुका लागि थ्री-प्वाइन्ट सिटबेल्ट पनि देखिएका छन्।

पछाडिका सिटहरू स्प्लिट-फोल्डिङ रहेका छन् भने ढोकामा स्टोरेज पकेट, कप होल्डर र अतिरिक्त स्टोरेज स्पेस दिइएको छ ।

जासुसी तस्बिरले भिजन एसमा अटोमेटिक गियरबक्स उपलब्ध हुने पुष्टि गरेको छ। आरपीएम मिटरको आधारमा परीक्षण मोडेल डिजेल इन्जिनद्वारा संचालित देखिन्छ । सम्भवतः यो हाल एक्सयूभी थ्री एक्सओमा प्रयोग भइरहेको १.५ लिटर फोर सिलिण्डर डिजेल इन्जिन हुन सक्छ । जसले ११७ हर्षपावर र ३०० न्युटन उत्पादन गर्छ।

महिन्द्राले भिजन एसलाई पेट्रोल र नयाँ हाइब्रिड पावरट्रेनमा पनि उपलब्ध गराउने जनाएको छ । यद्यपि हाइब्रिड भर्सन बारे अझै विस्तृत विवरण बाहिरिएको छैन ।

महिन्द्रा भिजन एसलाई एक्सयूभी थ्री एक्सओ र स्कोर्पियो क्लासिकको बीचको स्थानमा राखिने सब फोर मिटर एसयूभीका रूपमा विकास गरिएको छ।

कम्पनीले यो एसयूभी सार्वजनिक गर्ने मिति घोषणा नगरे पनि सन् २०२७ मा बजारमा ल्याउने अपेक्षा गरिएको छ।


Back_to_top