कुपे डिजाइनमा महिन्द्राको नयाँ एसयूभी

काठमाडौं । महिन्द्राले एरो कुपे डिजाइनमा नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । सम्भवत कम्पनीले यसलाई ‘एक्सयूभी ९००’ को नामबाट बजारमा ल्याउने छ । सन् २०२२ मा भारतबाट यसको ग्लोवल प्रिमियर हुनेछ ।

यसको डिजाइन कोड नेम W620 रहेको छ । सन् २०१६ को अटो एक्स्पोमा देखाइएको यो एरो कन्सेप्टको एसयूभी अब भने बजारमा आउने पक्का भएको हो । यसको उत्पादनसँगै भारतीय बजारमा नयाँ कुपे सेग्मेन्टको गाडी बनाउने महिन्द्रा पहिलो भारतीय कम्पनी समेत हुनेछ ।

नयाँ एसयूभीलाई महिन्द्राले छिटै विक्री सुरु गर्न लागेको एक्सयूभी ७०० भन्दा माथि राखेर बजारमा उतार्ने छ । त्यसैलाई आधार मान्दा पनि नयाँ आउने कुपे डिजाइनको एक्सयूभी ९०० एक प्रिमियम एसयूभी हुने पक्का भएको छ ।

अहिले बजारमा एसयूभीको र प्रिमियम एसयूभीको माग उच्च रहेको छ । यस्तोमा महिन्द्राको यो नयाँ कुप डिजाइनले राम्रो मार्केट रेस्पोन्स पाउने छ । महिन्द्राले यसअघि नै घोषणा गरे अनुसार निकट भविष्यमा ह्याचव्याक, सेडान वा कुनै पनि सानो एसयूभीको विकास गर्ने छैन । कम्पनीले आफ्नो पुरा रिसोर्स ठूला एसयूभी उत्पादनमा खर्च गर्ने जनाएको छ ।

मिडिया रिपोर्टहरुका अनुसार यो नयाँ डिजाइनको एसयूभीमा प्रिमियम क्याविन, धेरै आधुनीक फिचरहरुले सुसज्जीत रहनेछ । यसमा २.० लिटरको एमस्टेलन पेट्रोल तथा २.२ लिटरको एमहक डिजेल इन्जिन रहने छ ।

हालैमात्र महिन्द्राले टाटा मोटर्स छाडेका डिजाइन हेड प्रताप बोसलाई कम्पनीमा भित्र्याएको छ । यसले पनि आगामी महिन्द्राका उत्पादनहरुमा धेरै परिवर्तन देख्न सकिने अनुमान गरिएको छ ।


Back_to_top