काठमाडौं । अहिले नेपालमा बजाज र टीभीएसले एसेम्बल गरिरहेका छन् भने थप ३ कम्पनीले पनि एसेम्बल सुरु गर्न सक्ने देखिएको छ । चाँडै एसेम्बल गर्न सक्ने तीन कम्पनीमा यामाहा, होन्डा र हिरो हुन् ।
कुनैपनि सवारी साधन नेपालमा एसेम्बल गर्न बजार माग मुख्य मानिन्छ । अहिले बजाज र टीभीएस छाडेर यामाहा, होन्डा र हिरोको मोटरसाइकल आयात पनि निकै राम्रो संख्यामा रहेको देखिन्छ ।
नेपालमा विक्री हुने कुल दुई पाङ्ग्रे सवारी साधनको ९२ प्रतिशत बजार हिस्सा ओगटेका यी ५ ब्राण्डले नेपालमा नै मोटरसाइकल एसेम्बल सुरु गर्ने हो भने त्यसको केही वर्ष भित्रै नेपालमा साना पाट्स उद्योगहरु खुल्ने संम्भावना रहेको छ ।
बजाजले ४ वर्ष अघिदेखि नवलपरासीमा मोटरसाइकल एसेम्बल यूनिट स्थापना गरेर मोटरसाइकल एसेम्बल गर्दै आएको हो । त्यस्तै पर्सामा टीभीएसले आफ्नो एसेम्बल प्लान्ट लगाएको छ । टीभीएसको प्लान्ट भने अझैपनि पूर्ण क्षमतामा संचालनमा आइसकेको छैन ।
यामाहाले पनि नेपालमा प्लान्ट स्थापनाको लागि उपयुक्त स्थानको खोजी गरिरहेको छ । आगामी आर्थिक वर्षमा एसेम्बल प्लान्ट स्थापना गर्ने लक्ष्यसहित यामाहा अगाडि बढेको बुझिएको छ ।
होन्डाले पनि नेपालमा आफ्ना मोडलहरु एसेम्बल गर्न आवश्यक तयारी गरिरहेको छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योतिले केहि समय अघि मेरोअटोसँग कुरा गर्दै एसेम्बल प्लान्ट स्थापना गर्ने तयारी भइरहेको बताएका थिए । कोभिड १९ को संक्रमण बढ्दै गएसँगै कम्पनीको सप्लाईमा आएको समस्याले होन्डाका मोटरसाइकल तथा स्कुटर आयात खुम्चेको थियो ।
हिरो भारतकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक कम्पनी हो । नेपालमा पनि हिरोले आफ्नो बजार हिस्सा बढाउन थालेको छ । नयाँ नयाँ मोडलका मोटरसाइकल आउनु र पुरानै मोडलमा पनि भएका परिमार्जनले हिरोले बजार हिस्सा बढाउन सफल भएको हो । कोरोनाकाल भनेर चिनिएको गत अंग्रेजी आर्थिक वर्षमा करिब ३१ हजार यूनिट मोटरसाइकल आयात गरेर आफुपनि बलियो रहेको हिरोले प्रमाणित गरिसकेको छ । यस्तोमा राम्रो अवसर देखेको खण्डमा हिरोले पनि नेपालमा मोटरसाइकल एसेम्बल गर्न सक्ने देखिएको छ ।
अन्यको अवस्था कस्तो ?
यी ५ कम्पनी बाहेक अन्य कुनैपनि कम्पनीको आयात ६ हजार यूनिट पनि छैन । यस्तोमा बजारमा उच्चमाग नै नभएका कम्पनीले एसेम्बल गर्न सक्ने अनुमान गर्न सकिदैन ।
एसेम्बल यूनिट राख्दा कसलाई धेरै फाइदा ?
विश्वका धेरै देशमा अहिले पनि सवारी साधन बनाउने प्लान्ट स्थापना भएको छैन । ठूलो बजार र उच्च माग भए मात्रै कुनै पनि कम्पनीले उत्पादन प्लान्ट लगाउने हो । सामान्य माग पूर्ण रुपमा तयार भएका सवारी साधन आयात गरेरै धान्न सक्ने हुन्छ । यस्तोमा एसेम्बल प्लान्टपनि स्थापना गरिएको हुँदैन ।
एसेम्बल प्लान्टलाई उत्पादनको पहिलो खुड्किलोको रुपमा भने लिन सकिन्छ । साथै, त्यसले सृजना गर्ने रोजगारी र भविष्यमा खुल्न सक्ने सहायक उद्योग एसेम्बल प्लान्टको बाटोहुँदै गुज्रने भएकाले यसले समग्र अटोमोवाइल क्षेत्रको विकासमा नै सहयोग पुग्ने छ ।
तर, अहिले नेपालमा बनेका मोटरसाइकल चढ्ने ग्राहकले प्रत्यक्ष फाइदा भने पाएका छैनन् । त्यसमा सरकारले दिएको अन्तःशुल्क छुटले सहयोग नगरेको देखिन्छ । सरकारले बजेट मार्फत मोटरसाइकलको नकडाउन किट आयातमा २५ प्रतिशत अन्तःशुल्क छुट दिएको छ । त्यसले प्लान्ट संचालन खर्च पुर्याउनै कठिन भएको कम्पनीहरुको भनाई छ ।


