काठमाडौं । भारतीय एसयूभी एक्स्पर्ट महिन्द्राले सन् २०२२ मा ३ लाख २० हजारभन्दा धेरै एसयूभी विक्री गर्न सफल भएको छ । कम्पनीले कुल विक्री गरेको ३ लाख ३२ हजार यूनिट प्यासेन्जर गाडीमा ३ लाख २० हजार एसयूभी विक्री गरेको हो ।
सन् २०२१ को तुलनामा ६५.०९ प्रतिशतले आफ्नो विक्री बढाएको महिन्द्राले १ लाख ३१ हजार यूनिट बढी गाडी विक्री गरेको हो । त्यसमा सबैभन्दा ठूलो हिस्सा एक्सयूभी ७००, बोलेरो नियो, स्कर्पियो र थारको छ ।
महिन्द्राको लागि सन् २०२२ विक्रीमा नयाँ रेकर्ड बनेको मात्रै होइन बुकिङको लागि पनि उत्कृष्ट वर्ष बन्यो । कम्पनीले आफ्नो स्थानिय बजारमा अहिलेसम्मकै सबैभन्दा बढी बुकिङ लिन सफल भएको छ ।
नयाँ स्कार्पियो-एन, स्कार्पियो क्लासिक र नयाँ एक्सयूभी ३०० टर्बो स्पोर्टसहित थार तथा एक्सयूभी ७०० जस्ता एसयूभीले अत्याधिक बुकिङ पाएका थिए । महिन्द्राले थारको ५० हजारभन्दा बढी, एक्सयूभी ७०० को १ लाखभन्दा बढी र बुकिङ खुल्ला गरेको केही घन्टामा नै स्कर्पियो क्लासिकको १ लाख बुकिङ पुगेसँगै कम्पनीले बुकिङ नै बन्द गरेको थियो ।
आफ्नो उत्पादन क्षमता वृद्धि गर्दै कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी दिइरहेको छ । पछिल्लो समय महिन्द्राले वैकल्पिक चीप आपूर्ति नेटवर्क समेत बनाउन लागिपरेको छ । महिन्द्राले सन् २०२२ मा प्रति महिना २९ हजार युनिट सवारी उत्पादन गरेको जनाएको छ । अब सन् २०२३ र २०२४ को अन्त्यसम्ममा क्रमशः ३९ हजार र ४९ हजार युनिट प्रति महिनाका दरले सवारी उत्पादन गर्ने लक्ष्य लिएको छ । महिन्द्राका यी सफल एसयूभी क्रमशः नेपाल आउने तयारीमा छन् ।

