काठमाडौं । शनिबार बिहान चितवन विद्युतीय माइक्रोबस र बस जुध्दा ७ जनाले ज्यान गुमाए । धनगढीबाट काँकरभिट्टा जाँदै गरेको ठूलो बस र हेटौंडाबाट भरतपुर आउँदै गरेको विद्युतीय माइक्रोबस एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने चालकसहित ७ जना नै माइक्रोबसमा यात्रा गर्ने थिए ।
बसमा यात्रा गरिरहेका यात्रुहरूमा सामान्य चोटपटक लागे पनि उनीहरूलाई गहिरो चोट लागेन । ११ सिट क्षमताको माइक्रो बसमा रहेका ४ जना पनि मध्यम घाइते रहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ । ठूलो बसमा चढ्नेलाई सामान्य चोट लाग्यो । माइक्रो चढ्ने धेरैले ज्यान गुमाए ।
दुर्घटना कसरी भयो भन्ने विषय अध्ययन कै क्रम रहेको प्रहरीले जनाएको छ । अहिले घाइतेहरूको उपचार भइरहेको छ । धेरै जना आफ्नो गन्तव्यतर्फ लागि सकेका छन् । माइक्रोबसमा रहेका घाइते यात्रुहरू भने उपचार कै क्रममा छन् । दुर्घटनाको कारण र मानवीय क्षतिका पूर्ण विवरण विस्तारै आउलान् ।
गत असार २ गते काठमाडौं कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्रै विद्युतीय भ्यानले ठक्कर दिँदा एक छात्राको मृत्यु भएको थियो । उक्त भ्यान चालकले चलाउन नजान्दा एक्कासी हुत्तिएर दुर्घटना भएको थियो ।
विद्युतीय माइक्रोबस दुर्घटना भएका यी ताजा घटना हुन् । पछिल्लो समय अन्य सवारीको तुलनामा विद्युतीय माइक्रोबस दुर्घटना हुने क्रम तीव्र बनेको छ । यसले सडक सुरक्षा र जनधनको क्षतिका विषयमा भने ठूलो बहस निम्त्याएको छ ।
निश्चित मापदण्ड पूरा गर्नु नपर्ने भएको कारण यस्ता गाडीको आयात सजिलो भयो । उता कम्पनी दर्ता गरेर ल्याउने बित्तिकै रुट परमिट दिन बसेको यातायात व्यवस्था विभाग आफ्नै अवस्था जाँच्न सक्दैन, उसले यस्ता माइक्रो बस जाँच्न सक्ने कुरै भएन । यहाँ भएका दुर्घटना भने चालकको कारण धेरै भएको देखिन्छ ।
चालकलाई ट्रेनिङ देऊ
अहिले भएका दुर्घटनाहरू अधिकांश मानवीय त्रुटीको कारण भएको देखिन्छ । चालकले ब्रेक थिचेभन्दा एक्सिलेरेटर थिच्ने, तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसक्ने जस्ता कारण धेरै दुर्घटना भएका हुन् ।
विद्युतीय साधनको पावर धेरै हुने र बाटोमा रहेका अन्य गाडीलाई सजिलै उछिन्न सक्छु भन्ने सोच चालकहरूले राखेर गाडी चलाउँदा पनि धेरै गाडी भिरबाट खसेका छन् । यसले आर्थिक र मानवीय क्षति बढाएको छ ।
त्यसैले ईभी बिक्रेताले चालकलाई क्लोज क्याम्पमा राखेर ट्रेनिङ दिएर मात्रै गाडी सडकमा चलाउन दिनुपर्छ । गाडी बेच्नमा मात्र होइन, आफूले बिक्री गरेको सवारी साधन सही तरिकाले चलाउन पनि सिकाउनु पर्ने देखिन्छ । यस्ता ट्रेनिङ ट्राफिक प्रहरीसँगको सहकार्यमा भए परिणाममुखी हुनेछन् ।
ईभी भ्यान दुर्घटना औषतभन्दा निकै बढी
सामाजिक संजालमा शनिबार बिहान नाउकुमार पुनले लेखेका छन्, ‘सवारी साधन जुनसुकै दुर्घटनामा परे पनि दुःखद हो । तर, पछिल्ला दिनमा ईभी माइक्रोको दुर्घटना दर हेर्दा र मिडियामा समाचार देख्दा ज्यादै पीडा अनुभूति हुन्छ । मेरो विचारमा ११ सिटे ईभी माइक्रो भ्यान सार्वजनिक यातायातको लागि उपयुक्त हुँदैन कि ।’
पुन विगत लामो समयदेखि ईभीको विकास र विस्तारमा चासो राख्दै आएका मानिस पनि हुन् । अहिले साना माइक्रो भ्यानको विषयलाई लिएर धेरैले सुरक्षा चासो देखाउन थालेका छन् । यसले भोलिका दिनमा लामो दुरीमा विद्युतीय माइक्रो भ्यान चलाउने विषयमा धेरै चनाखो हुनुपर्ने अवस्था सृजना भएको छ ।
केही दिन अगाडि बीपी हाइवेमा भएका दुई दुर्घटना होस् वा काठमाडौंकै कलंकीको स्कुलमा भएको दुर्घटना यसले ईभी चलाउन चालकको क्षमता नपुगेको देखिन्छ । यसमा गाडी आयातकर्तादेखि बिक्रेतासम्मले ठोस काम गर्न जरुरी छ ।
दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै हो । त्यसैले ईभी सम्बन्धी जानकारी र केही ट्रेनिङ गर्न सकिए बढ्दो दुर्घटना न्यूनिकरण गर्न र ईभीको प्रयोग ब्यापक गर्न सहयोग पुग्ने देखिन्छ ।