काठमाडौं । दुई सातापछि भारतमै पहिलो पटक फ्लेक्स फ्युलबाट चल्ने सवारी साधन सार्वजनिक हुने भएको छ ।
केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले पर्यावरण दिवस (२०२६ जुन ५)को अवसरमा दिल्लीमा आयोजना हुने एक विशेष कार्यक्रममा मारुती सुजुकीले फ्लेक्स फ्युलबाट चल्ने गाडी सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।
हालसम्म भारतमा कुनै ब्राण्डले शतप्रतिशत इथानोलबाट चल्ने सवारी साधन उपलब्ध गराएका छैनन् । मारुती सुजुकीले चाँडै ल्याउन लागेको यो गाडी ई १०० सम्मको मिश्रित इन्धनबाट चल्ने देशकै पहिलो चारपाँग्रे गाडी हुनेछ ।
यसका लागि गाडीमा विशेष प्रकारको ट्यांक, इन्धन आपूर्ति र इग्निसन (आगो सल्काउने) प्रणाली जडान गरिएको छ । गत वर्ष टोकियोमा आयोजित जापान मोबिलिटी शो २०२५ मा सुजुकीले आफ्नो फ्रङ्क्स सब फोर मिटर कुपे एसयूभीको फ्लेक्स फ्युल संस्करण प्रदर्शन गरेको थियो ।
तर, उक्त गाडी ई ८५ (८५ प्रतिशत इथानोल) सम्म मात्र चल्न सक्ने खालको थियो। त्यसैले, मारुती सुजुकीले ई १०० क्षमताको फ्लेक्स फ्युल गाडी फ्रङ्क्स बाहेक अर्कै मोडलमा आधारित भएर ल्याउने बलियो सम्भावना छ ।
चाँडै बजारमा आउने यो ई १०० क्षमताको फ्लेक्स फ्युल गाडीलाई १०० प्रतिशत इथानोल अनुकूल बनाउन पुरानो ई ८५ प्रोटोटाइप भन्दा थप परिमार्जन गरिएको हुनसक्छ। साधारण पेट्रोलको तुलनामा इथानोलले हावाबाट ओस वा चिसोपना बढी सोस्ने गर्दछ। इथानोलको मात्रा धेरै हुँदा इन्धन प्रणाली र इन्जिनका पाटपूर्जाहरू बिग्रिने डर हुने भएकाले यसका लागि विशेष रूपमा तयार पारिएका इन्जिनका पाटपूर्जाहरू आवश्यक पर्दछन्।
मन्त्री गडकरीका अनुसार इन्धनमा इथानोलको मात्रा बढाउँदा देशभित्रै सस्तो, प्रदूषणरहित र स्वदेशी इन्धनको उत्पादन तथा आपूर्ति सुनिश्चित हुनेछ। यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अस्थिर मूल्य र ऊर्जा सुरक्षाको जोखिमका बीच, भारतको कच्चा तेल आयातमा रहेको ८७ प्रतिशतको निर्भरतालाई पनि कम गर्नेछ।
उनले टोयोटा, टाटा, महिन्द्रा र सुजुकी सहित कुल १२ वटा कम्पनीहरूले यसअघि नै यस्ता फ्लेक्स फ्युल गाडीहरू प्रदर्शन गरिसकेको जानकारी दिए । साथै होन्डा र सुजुकी जस्ता कम्पनीहरूका कारण दुईपाँग्रे (मोटरसाइकल÷स्कुटर० मा पनि फ्लेक्स फ्युल प्रविधि भित्रिइसकेको छ।
भारतले ई २० पेट्रोललाई अनिवार्य गरिसकेको छ भने गुणस्तर ब्युरोले ई २२, ई २५, ई २७ र ई ३० इन्धनका लागि पनि मापदण्डहरू जारी गर्दै इथानोल मिश्रणको आगामी मार्गचित्रको तयारी गरिरहेको छ ।


