२ महिनापछि संचालनमा आयो मौलाकालिका केबलकार

काठमाडौं । नवलपरासीको गैँडाकोटस्थित मौलाकाली केबलकार बन्द भएको दुई महिनापछि संचालनमा आएको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केबलकारको बटम स्टेसनमा आगजनी तथा तोडफोड हुँदा बन्द रहेको उक्त केबलकार मर्मतपछि आजदेखि संचालनमा ल्याइएको हो ।

मौलाकालिका केबलकार प्रालिका अनुसार अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माण गरी आज बिहानदेखि परीक्षणको रुपमा संचालनमा आएको हो । भोलि (मंगलबार) अपराह्नदेखि भने व्यवसायिक रूपमा संचालनमा ल्याइने कम्पनीले जनाएको छ ।

२ महिनादेखि केबलकार बन्द हुँदा पर्यटकीय तथा धार्मिक गन्तव्य मौलाकाली मन्दिर दर्शन गर्न भक्तजनहरूलाई कठिनाइ भएको थियो ।

१२०० मिटर लामो मौलाकालिका केबलकारमा १२ वटा डिब्बा रहेका छन । जसमा एकपटकमा ९६ जना ओहोरदोहोर गर्न सक्छन् । यो केबलकारको बटम स्टेसनबाट टप स्टेसन पुग्न ५ मिनेट समय लाग्छ ।


Back_to_top