काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अटोमोबाइल क्षेत्रको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ ।
सोमबार अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री भेटी अटोमोबाइल क्षेत्रलाई माथि उठाउन सरकारले आवश्यक नयाँ नीति नियमहरू ल्याउनुपर्ने जानकारी गराएको हो ।
अध्यक्ष उप्रेतीले अटो आवश्यक नयाँ नीति ल्याए यस क्षेत्रबाट सरकारले पाउने राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढने बताए । उनले नेपालको अटोमोबाइल उद्योग फष्टाउन आयातित कच्चा पदार्थहरूमा छुट दिनुपर्ने बताए ।
उनले वर्तमान अवस्थामा सीकेडीलाई सजिलो भए पनि उद्योगहरूलाई भने कठिनाइ भइरहेको बताए । उनले टायरटयुब ब्याट्री, लुब्रिकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल बस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नहुँदा विभिन्न समस्या सामना गरिरहेको जानकारी गराए ।
उनले सरकारले अटोमोबाइल बस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राखे । अध्यक्ष उप्रेतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरू समेत पेश गरे ।
अर्थमन्त्री डा. वाग्लेले सरकार राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेकोको बताए ।
उनले सरकारले राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेकाले निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिए ।
मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउँदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताए ।

