काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अटोमोबाइल क्षेत्रका विद्यमान समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरू समाधान गर्न आग्रह गरेको हो ।
अध्यक्ष थापाले सवारी साधनहरूलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दै सो वर्गीकरणबाट हटाउन आग्रह गरे ।
यस्तै, उनले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमा ल्याउन, सार्वजनिक सवारीसाधनमा लाग्ने भन्सार तथा अन्तःशुल्क घटाउन, स्पेयर पार्टसको चोरी पैठारी रोक्न माग गरे ।
अर्थमन्त्री महतले अटोमोबाइल व्यवसायीको समस्या सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, आगामी बजेटमा समावेश गरी समाधान गर्ने आश्वासन दिए ।
उनले व्यवसायीलाई विद्युतीय सवारी साधनहरूको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरे ।

