मेरोअटोद्धारा सिन्धुपाल्चोकका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । मेरोअटो डटकमले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२, उखुबारीस्थित श्री कालिका आधारभूत विद्यायलका विद्यार्थीहरूलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ ।

मेरोअटोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयका ६० बढी विद्यार्थीलाई झोला, कापीकलम, फुटबल, क्यारेमबोर्ड लगायत सामग्री हस्तान्तरण गरेको हो ।

कम्पनीले पाँचौं संस्करणको मेरोअटो र्‍यालीको अवसरमा उक्त शैक्षक सामग्रीहरू प्रदान गरेको हो । एक कार्यक्रमका बीच मेरोअटोका प्रधान सम्पादक सागर गजुरेलसहितकाे टिमले उक्त सामग्री विद्यालयका प्रधानध्यापक टीका पराजुलीलाई  हस्तान्तरण गरेका थिए ।

मेरोअटोका प्रबन्ध निर्देशक हरि गजुरेलले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको बताए ।

‘मेरोअटोको वार्षिकोत्सवको अवसरमा हामीले वर्षेनी मोटर र्‍याली आयोजना गर्दै आएका छौं । यसले टुरिजम विकासमा सहयोग पुर्याउँदै आएको छ,’ उनले भने, ‘सँगसँगै हामीले सामाजिक कामलाई पनि अघि बढाएका हौं । यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन्छौं ।’

पाँचौं संस्करणको मेरोअटोको मोटर र्‍याली शुक्रबार (वैशाख १९ गते) सम्पन्न भएको थियो । काठमाडौंको नक्सालबाट सुरू भएकाे र्‍याली गौशला-चाबहिल-जोरपाटी-थली-साँखु-नगरकोट-कुन्ताबेँसी-जेरोकिलो-दोलालघाट हुँदै सुकुटे पुगेर समापन भएको थियो । उक्त र्‍यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी थिए ।

मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्‍याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणकाे र्‍याली सन् २०२१ मा काठमाडौं-सुकुटेसम्म भएको थियो ।

त्यस्तै, दोस्रो संस्करणको काठमाडौं-मूलकोट, तेस्रो संस्करणको काठमाडौं-त्रिशूली र चौथौं संस्करणको काठमाडौं-चितवनकाे सौराहा भएको थियो ।

 


Back_to_top