काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटा मोटर कर्पोरेशन र अमेरिकी आइटी जाइन्ट गुगल बीच ‘अटोनोमस ड्राइभिङ भेहिकल’ उत्पादनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको समाचारहरु बाहिर आएका छन् ।
आ-आफ्नो क्षेत्रमा अब्बल यी दुई कम्पनी बीचको सहकार्यको अड्कलबाजी चलिरहेकै समयमा जापानी ब्राण्ड टोयोटाले अटोनोमस ड्राइभिङ भेहिकलको लागि आवश्यक प्लेटफर्म बनाउन आफु साझेदारको खोजीमा रहेको जनाएको छ । यसले दुई कम्पनी बीच राम्रै छलफल अगाडि बढेको अनुमान गर्न सकिन्छ ।
गुगलको स्वामित्वमा रहेको फ्लिट सेवा प्रदायक ‘वेमो’को लागि सुरुवाति दिनमा सेल्फ ड्राइभिङ गाडी बनाउन दुई कम्पनी एक स्थानमा उभिएका हुन् । भविष्यमा टोयोटाले अटोनोमस ड्राइभिङ आफ्नो प्यासेन्जर कार र वेमोको लागि उत्पादन गर्नेछ ।
यस विषयलाई वेमोका प्रवक्ता क्रिस बोनेलीले पनि पुस्टी गरेका छन् । उनि भन्छन्, ‘दुई कम्पनीको एउटै लक्ष्य छ । सडक सुरक्षा सुधार र बढ्दो गतिशिलता प्रदान गर्न हामी दुबै कम्पनी प्रतिवद्ध छौं ।’
गुगल र टोयोटाले यस विषयमा साझेदारी पत्रमा हस्ताक्षर गरिसकेको वेमोका प्रबक्ता बताउँछन् । उनका अनुसार सून्य ट्राफिक दुर्घटनाको लागि नयाँ बन्ने अटोनोमस कार प्लेटफर्म बरदान हुनेछ ।
रमाइलो कुरा के छ भने वेमो चालक रहित फ्लिट सेवा दिने कम्पनी हो । कम्पनीको सेवा चालक बीना लाखौं किलोमिटर सफल यात्रा पुरा गरिसकेको छ । अमेरिकी राज्य सान फ्रान्सिस्को, फिनिक्स, एरिजोना र लस एन्जलसमा चालक रहित ट्याक्सी सेवा प्रदान गर्दै आएको छ ।
उसोत वेमोले यस्तो सम्झौंता टोयोटासँग मात्र गरेको छैन । यसअघि ज्यागुअर, हुन्डाई र गिली जस्ता ब्राण्डसँग पनि सम्झौंता गरेको थियो । अहिले हुन्डाई आयोनीक-५ स्वचालित ट्याक्सीको रुपमा समावेस भएको छ ।