मेक्ससले देखायो पहिलो फोरह्वील ड्राइभ इलेक्ट्रीक पिकअप

काठमाडौं । चिनियाँ अटो उत्पादक एसएआइसीको सहायक कम्पनी म्याक्ससले फोर ह्वील ड्राइभ पिकअप ट्रक सार्वजनिक गरेको छ । कम्पनीले म्याक्ससको टी ९० ईभीको विस्तारित प्रडक्ट ‘ई टेरोन ९’ पिकअप सार्वजनिक गरेको हो ।

ई टेरोन ९ पिकअप फोर्डको रेन्जरभन्दा पनि ठूलो साइजको रहेको छ । यसमा धेरै लोड बोक्न सकिने गरि २.४ मिटर लामो कार्गो स्पेश रहेको छ । ई टेरोन ९ को पेलोड क्यापासिटी ६२० केजीको रहेको छ भने यसको टोइङ क्षमता ३५०० केजीसम्मको रहेको छ ।

ई टेरोन ९ मा १०२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक रहेको छ । एकपटकको फुलचार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यो पिकअपलाई ११५ किलोवाटको फास्ट चार्जरले चार्ज गर्दा जम्मा ४० मिनेटमा २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो पिकअपमा भेहिकल टु लोड सुविधा समेत रहेकाले अन्य इलेक्ट्रीक डिभाइसलाई पनि पावर दिन सकिन्छ ।

फोर ह्वील ड्राइभ भएकोले यसको अगाडि र पछाडिको एक्सलमा दुईवटा मोटर दिएको छ । अगाडि १३८ किलोवाट र पछाडि २१६ किलोवाटको मोटरको कम्बाइन पावर ४३५ हर्सपावर रहेको छ । आगामी अक्टोबर ९ मा वेलायतमा लन्च हुने ई टेरोन ९ को डेलिभरी भने सन् २०२५ को जनवरीबाट मात्र हुनेछ ।

एसएआइसीले म्याक्सस ब्राण्डको १ लाख ८० हजारवटा पिकअप ट्रकको बिक्री गरिसकेको छ । कम्पनीले युरोप, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिकी मुलुकहरूमा कुल बिक्रीको ९० प्रतिशत निर्यात गरेको बताएको छ ।

एसएआइसीको एमजी, उलिड र म्याक्सस ब्राण्डका गाडीहरू नेपाली बजारमा प्यारामाउण्ट मोटर्सले बिक्री गरिरहेको छ ।


Back_to_top