काठमाडौं । एमजीले ‘थाइल्याण्ड मोटो एक्स्पो २०२२’मा आफ्नो इलेक्ट्रीक क्रसओभर एमजी–४ (चीनमा मुलान नाम राखिएको) इलेक्ट्रीक कार प्रदर्शनी गरेको छ । कम्पनीले चीनमा गत सेप्टेम्बरबाट विक्री सुरु गरेको यो कार राइट ह्याण्ड ड्राइभमा थाइल्याण्डमा सार्वजनिक भएको हो ।
एमजी ४ दुई ब्याट्री अप्सनमा र तीन मोटर अप्सनमा सार्वजनिक भएको छ । कम्पनीले यसलाई १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटरमा सार्वजनिक गरेको हो ।

सबैभन्दा सानो ब्याट्री प्रयोग भएको भर्सनले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ५२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

एमजी ४ नेपाली बजारमा पनि उपलब्ध हुन सक्ने कार हो । एमजीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको यो कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । यो कारको ड्राइभिङ एक्सपीरियन्स राम्रो बनाउन एमजीले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

एमजीले यसको लागि निकै पातलो साइजको ब्याट्री प्रयोग गरेको जनाएको छ । यसमा रहेको ब्याट्रीको हाइट ४.३ इन्च मात्रै रहेको छ । यो ह्याचव्याकले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।



