काठमाडौं । संसारभर वातावरणको मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने यूरोपेली देशहरु अगाडि आउँछन् । उनिहरु बातावरणको मुद्दामा जति सजग छन्, अन्य शक्ति राष्ट्रहरुले त्यसमा चासो देखाएका छैनन् ।
यसलाई यूरोपमा हुने इलेक्ट्रीक कारको बिक्रीले पनि पुष्टि गर्छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा सबैभन्दा धेरै ईभी हुने महादेश नै यूरोप हो ।
यूरोपीयन मार्केटमा ब्याट्री इलेक्ट्रीक कारको बिक्री सन् २०२२ को डिसेम्बरमा नै २५ प्रतिशत पुगेको थियो । २०२३ सेप्टेम्बरमा यूरोपीयन बजारमा त्यो संख्या बढेर ३५ प्रतिशत हाराहारी पुगेको छ ।
यूरोपमा सबैभन्दा धेरै टेस्लाका इलेक्ट्रीक कारहरु बिक्री भएका छन् । दोस्रो र तेस्रोमा जर्मन ब्राण्ड फक्सवागेन र बीएमडब्लू छन् । धेरै कार बिक्री गर्ने सूचीको चौथोमा हुन्डाई, पाँचौमा मर्सिडिज, छैठौंमा किया र सातौ स्थानमा एमजी रहेको छ ।
बिक्री वृद्धिको हिसावले २०२३ अगष्टको तुलनामा सेप्टेम्बरमा टेस्लाले २४० र एमजीले २२६ प्रतिशतले आफ्नो बिक्री बढाएका छन् । त्यस्तै ओपल ब्राण्डले पनि आफ्नो बिक्री १०० प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।
यूरोपमा सर्वाधिक मन पराइएको ब्राण्ड टेस्लाले ‘मोडल वाई’ र ‘मोडल थ्री’ सबैभन्दा धेरै बिक्री गरेको छ । सन् २०२३ मा यूरोपीयन बजारमा टेस्ला मोडल वाई यूरोपमा सर्वाधिक बिक्री हुने प्रक्षेपण गरिएको छ ।
टेस्लाले तेस्रो क्वाटरसम्ममा मोडल वाईको बिक्रीमा २१६ प्रतिशतले वृद्धि गर्दै १ लाख ६९ हजार यूनिटभन्दा धेरै बिक्री गरिसकेको छ ।
पेट्रोल र डिजेल कार बेचिरहेको एमजीले पनि यूरोपीयन बजारमा इलेक्ट्रीक भेहिकलको बिक्रीमा व्यापक बृद्धि गर्न सफल भएको छ । हालै लन्च भएको एमजी ४ यूरोपीयन बजारमा राम्रो संख्यामा बिक्री भइरहेको छ । कम्पनीले एमजी–४ मोडल अगस्टसम्ममा १४ हजार ९०० यूनीट बिक्री गर्दै टप २० मोडलमा पर्न सफल भएको छ ।

