काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक भेहिकल ब्राण्ड एमजी (मोरिस ग्यारेज) ले पूर्व र पश्चिम क्षेत्रमा गुड्ने गाडीलाई ध्यानमा राखेर दुई स्थानमा फास्ट चार्जर स्थापना गरेको छ ।
एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले काठमाडौंबाट पूर्वतर्फ जाने सवारीलाई लक्षित गरेर ढल्केबगर र पश्चिमतर्फ जाने साधनलाई कुरिनटारमा ३० किलोवाटको फास्ट चार्जर स्थापना गरेको हो ।
ढल्केबगर स्थित कोमल होटल र कुरीनटारको रिभर साइड स्प्रीङ रिसोर्टमा चार्जर स्थापना गरिएको छ । दुवै स्थानमा फास्ट चार्जरको साथै ७ किलोबाटको सानो चार्जर समेत राखिएको कम्पनीले जनाएको छ ।
लामो समय हुनेहरुका लागि ७ किलोवाटको चार्जर र छिटो चार्ज गरेर यात्रा गर्नेहरुका लागि फास्ट चार्जर राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुबै किसिमको चार्जर एकै स्थानमा राखेकाले ग्राहकले आफ्नो अवश्यकता अनुसार चार्जिङ गर्न सक्नेछन् ।
कम्पनी पूर्व वा पश्चिमबाट मुग्लिन हुँदै काठमाडौं आउने गाडीहरुलाई लक्षित गरेर कुरिनटारमा फास्ट चार्जिङ स्थापना गरेको भएपनि त्यहाँबाट काठमाडौं आउने बाटो उकालो भएको कारण ग्राहकलाई झन्झट नहोस् भनेर चाँडै नौविसे-धार्के खण्डमा पनि फास्ट चार्जर स्थापना गर्न लागेको जानएकोे छ ।
‘हामी अहिले राख्ने ठाँउ छनोट गरिरहेका छौं । अबको केही महिना भित्रै त्यहाँ चार्जर स्थापना हुन्छ’, पारामाउन्ट मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले आगामी दुई महिना भित्र हाइवे तथा मुख्य सहरहरुमा थप १५ स्थानमा ३० किलोवाटको फास्ट चार्जर स्थापना गर्ने जनाएको छ । यी सबै चार्जरको स्थापना भएपछि एमजीको इलेक्ट्रीक गाडीमा ढुक्कसँग हाइवेमा लामो लामो यात्रा गर्न सकिने कम्पनीले दावा गरेको छ ।

