काठमाडौं । पेट्रोलबाट चल्ने कारले प्रतिलिटर २० किलोमिटर माइलेज दावी गर्दा औषतमा १२ किलोमिटर पाइन्छ । त्यस्तै रेन्जकाे मामला विद्युतीय गाडीमा पनि रहेको धेरै मानिसको गुनासो सुन्ने गरिन्छ । त्यसैले पनि हाइवेमा नेपालकै सर्वाधिक सफल इलेक्ट्रीक एसयूभीको रेन्ज परिक्षण गर्ने योजना बनाएसँगै यात्राको गन्तब्य छनोट गरेँ ।
अहिले बजारमा एक पटकको फुल चार्जमा १०० किलोमिटरदेखि ५२२ किलोमिटरसम्म रेन्ज दावी गरिएका विद्युतीय गाडी उपलब्ध छन् । यस्तोमा हामीले परिक्षणको तयारी गरेको एमजीकाे जेडएस इभीले पनि ३५० किलोमिटर रेन्ज दिने दावी प्रस्तुत गरेको थियो । त्यही दावी अनुसारको गन्तब्य छनोट गर्नु पर्ने भएकोले मेरो रोजाईमा पोखरा परेको हो ।

मेरो छनौटको यात्रा काठमाडौं चावहिलबाट मुङलिन हुँदै पोखरासम्मको २१० किलोमिटर र त्यसपछि पोखराको पामेहुँदै बेगनासको माझीकुनासम्म–३० किमी र बेगनासबाट बन्दिपुर हुँदै काठमाडौं चावहिलसम्मको २१५ किमि रहेकाे थियो ।
गाडीको परिक्षणमा सिटफुल बनाउने योजना अनुसार हामी ५ जना बसेका थियौं । सबैसँग हलुका लगेज पनि थियो । थोरै समान भएको कारण कार्गोमा थप सामान राख्न मिल्ने अवस्था थियो । चावहिल बाट यात्रा सुरु गर्दा ४४.५ किलोवाट आवर क्षमताको ब्याट्री फुल चार्ज थियो ।
सुरुवातमा जेडएस इभीले इकनोमीक मोडमा ३४८ किलोमिटरकाे रेन्ज देखाएको थियो । चावहिलबाट चक्रपथ, बालाजु, कलंकी हुँदै पोखराको यात्रा सुरु भयो । यसमा तीन किसिमको ड्राइभिङ मोड इकनोमीक, नर्मल र स्पोर्टस् मोड उपलब्ध छ । हामीले धेरै रेन्ज दिने भएकोले इकनोमीक मोडमा चलाएका थियाै ।
यात्रालाई मनोरन्जन प्रदान गर्न हाइवेमा खुलेका अनौठा स्टेशनको महत्वपूर्ण भूमिका हुन्छ । घाँसीकुवा क्रसगरेपछि मुङलिनबाट ३५ किलोमिटर पर खुलेको कन्टेनर कफीले हामीलाई लोभ्यायो । कन्टेरको थिममा बनाएको उक्त कफीसपमा फरक अनुभव पाउन सकिन्छ । कन्टेनरमा बनेको कफीसप र रेष्टरूम आकर्षक थियो भने, ठूलो–ठूलो कफीको कप आकारमा बनाइएको बस्ने कुर्सीले फरकपन दिएको थियो ।
हाइवे अनुभव
काठमाडौं मुङलिनको हाइवे धेरै घुमाउरो तथा ट्राफीक पनि धेरै हुने भएकाले गाडी चलाउँदा रमाइलो अनुभव गर्न सकिदैन । तर, मुङलिनबाट पोखरासम्मको हाइवे भने मलाई ब्यक्तिगतरुपमा राम्रो लाग्छ । सिधा बाटो खुल्ला फाटहरू अनि ट्राफिक पनि एकदमै कम रहेकाले यो बाटोमा गाडी चलाउन सहज र रमाइलो हुन्छ ।
त्यसमा पनि इलेक्ट्रीक कार भएपछि ‘ड्राइभिङ फन’को त कुरै गर्नु परेन । विद्युतीय गाडीमा इन्स्ट्यान्ट टर्क हुने भएकाले पनि हाइवेमा कुनै पनि सवारीलाई ओभरटेक गर्न परेपनि निकै सजिलो हुन्छ । इकनोमीक मोडमा नै चलाउदा पनि गाडीको प्रफर्मेन्स निकै राम्रोे थियो । तर, हाम्रो हाइवेको खाल्डाखुल्डीले भने ब्रेक मागिरहन्छ ।
मुङलिनबाट पोखराको पृथ्वी चोक पुग्दा हाम्रो गाडीले अझै ११९ किलोमिटर रेन्ज दिने सूचना इन्नट्रुमेन्ट क्लष्टरमा देखिएको थियो । पोखरामा एमजीले दुईवटा होटल र आफ्नै शोरुम गरी ३ स्थानमा ७ किलाेवाटकाे चार्जर दिएको रहेछ । हामीले पनि चार्जिङ सुविधा भएको ल्याण्डमार्कलाई बासस्थान बनायौं ।
चार्जिङ शुल्कमा लुट
हामीले गाडी चार्जमा लगाउँदा ३३ प्रतिशत चार्ज गाडीमा बाँकी थियो । त्यसलाई फुल चार्ज गर्न हामीले होटलमा रहेको ७ किलोवाट क्षमताको चार्जर प्रयोग गरेका थियौं ।
एक पटक फुल चार्ज गर्न करिब ४५ यूनिट विद्युत लाग्ने हाम्रो गाडीमा ३३ प्रतिशत चार्ज बाँकी रहेकोले फुल चार्ज हुन करिब ३२ यूनिट विद्युत खर्च हुन्थ्यो । तर, होटलले एक प्रतिशत चार्ज गर्न १५ रुपैयाँ लिने गरेको रहेछ । यो ब्यवस्था गलत हो ।
प्रति यूनिट १५ रुपैयाँसम्म लगाएको भएपनि यसलाई राम्रो मान्न सकिन्थ्यो । चार्जर कै कारण ल्याण्डमार्कमा नै बस्नु पर्ने बाध्यता एकातिर थियो भने अर्को तिर करिब ३३ रुपैयाँ प्रति यूनिटको विद्युत खपत गर्नु पर्ने अवस्था सृजना भएको छ । हाम्रो गाडीले ६७ प्रतिशत चार्ज गरेको कारण होटलले हामीलाई १ हजार ५ रुपैयाँको बिल दियो ।
चार्जरकै कारण महंगोमा कोठा लिनु पर्ने बाध्यता
पोखरामा अहिले होटलहरु खाली छन् । औषत नेपालीले प्रयोग गर्ने होटलका कोठा २ हजारदेखि ३ हजार रुपैयाँसम्ममा छानेर पाउने अवस्था छ । विद्युतीय गाडीकै कारण हामीले ल्याडमार्कमा बस्ने निधो गरेका थियौं ।
एउटा रुमको ६ हजारको दरले दुई वटा रुम लिएर १२ हजार तिरेका हामीलाई करिब ३२ यूनिट विद्युतको १ हजार ५ रुपैयाँ तिर्नु पर्दा सहनै कठिन भएको थियो । यसले पनि मानिसलाई बाध्यतामा कसरी चेपिन्छ भन्ने प्रस्ट पार्छ । ल्याण्डमार्कको बसाई हाम्रो लागि बिर्सन लायक बन्यो ।
यात्राको दोस्रो दिन
ल्याण्डमार्क होटलको नमिठो अनुभवसँगै हामी गाडी लिएर पामेतीर गयौं । लेकसाइडको विकल्पमा तयार हुँदै गरेको पामे ‘विच थिम’का हाटल र रिसोर्टले भरिदैछन् । स्थानीय ब्यवसायीका अनुसार लेकसाइडमा भन्दा आजकल पामे एरियामा बस्ने चाहने पर्यटक धेरै छन् । पामेको घुमाई र केही समयको बसाईपछि हामी वेगनास तालतिर लाग्यौ । वेगनास ताल सधैँ ओझेलमा परेको ताल हो ।
मनोरम सान्त र सफा वेगनास तालको पारिपट्टी माझिकुना नामले माछाका पारखीहरुलाई चर्चित गन्तब्य बनेको छ । स्थानीय माछालाई फोयलमा हालेर ग्रिल गरिने माछाको परिकार निकै प्रसिद्ध रहेछ । बेगनास बसपार्कबाट देब्रेतिर नलागी सिधा माथि लागेमा माझिकुना पुग्न सकिन्छ । सानो बाटो भएपनि त्यहाँ मानिसको अवतजावत बाक्लै रहेछ ।

शुक्रबार भएकाले अझै कम भएको रे । शनिवार त थेग्नै नसकिने अवस्था हुन्छ भन्दै थिए स्थानिय व्यवसायी । हामीले त्यहि बस्ने निधो गरेका थियौ । ल्याण्डमार्कमा फुलचार्ज गरेर हिडेका हामी माझिकुनामा पुग्दा करिब ११ प्रतिशत व्याट्री खर्च भएको थियो । त्यहि होटलमा राती गाडीमै भएको ३ किलोवाटको चार्जरले चार्ज गर्यौ ।
तेस्रो दिन
वेगनासबाट बन्दिपुर हुँदै काठमाडौं जाने योजना बन्यो । सिधा हाइवे मात्रै यात्रा गरेको भए फुलचार्जमा सजिलै काठमाडौं आउन सकिन्छ भन्ने हाम्रो बुझाई थियो । तर, बन्दिपूर उक्लने निर्णयले थप समस्या सृजना हुने डर थियो । डुम्रेबाट बन्दिपूर ८ किलोमिटर उकालो चढ्दा ३३ किलोमिटर गुडाउन पुग्ने चार्ज सकियो । तर, ओरालो झर्दा १२ किलोमिटर बरावरको रेन्ज रिजेनेरेट गर्न सफल भयो । डुम्रे एरियामा बाटो विस्तार भइरहेको कारण करिब १ घण्टा जाममा परेपछि हाम्रो यात्रा अगाडि बढ्यो ।
हामी मुङलिन आइपुग्दा गाडीले २०० किमि रेन्ज बाँकी थियो । यात्रा गर्ने बाटो ११० किलोमिटर बाँकी रहेकाले सजिलै पार हुनेमा ढुक्क थियौ । त्यसैले इकनोमीक मोडमा विस्तारै अगाडि बढ्यौ । साँझ ८ बजे हामी नौविसे आएका थियौं । बेलुका ट्रक जाममा परेको कारण अकालोमा फस्ने अवस्था आयो ।
उकालोमा विद्युत खपत बढी हुने र विण्ड स्कृनमा वाफ जमेर एसी पनि चलाउनै पर्ने वाध्यताको कारण नागढुङ्गाको उकालो कट्नै लाग्दा ३९ किलोमिटर रेन्ज बाँकी थियो । नागढुङ्गा आइपुगेकाले कसैलाई अनुरोध गरेर चार्ज गर्न सकिने विकल्प हाम्रो अगाडि देखा पर्यो ।

राती १० बजेपछि भएको कारण बाटो खाली थियो । जाममा बस्नु परेन भने विस्तारै चावहिल तर्फ हामी अगाडि बढेका थियौं । कलंकी आउँदा ३१ किमि रेन्ज बाँकी थियो । करिब ११ बजे चावहिल पुगेर चेक गर्दा रेन्जको रिडिङ नै थिएन अर्थात् व्याट्री सकिएको थियो । पछि घरमा चार्जर जोडर हेर्दा ४ प्रतिशत मात्र व्याट्री बाँकी रहेको देखायो ।
निष्कर्ष
विद्युतीय गाडी सुन्दा जति सुन्दर लाग्छ, पूर्वाधार अभावको कारण हाइवे यात्रा भने डराएर गर्नु पर्ने अवस्था छ । त्यो मैले मात्रै सामना गर्नु परेको समस्या होइन । त्यसमा पनि हाम्रो जस्तो नामको मात्र हाइवे भएको ठाँउमा अझै सचेत हुनुपर्छ ।
अहिले एमजीले डिसी फास्ट चार्जर राख्ने तयारी गरिरहेको छ । कम्पनीले ढल्केबगरमा एउटा चार्जर लगाइसकेको छ । मैले तीन दिनसम्म जेडएस इलेक्ट्रीक चलाएपछि भन्नै पर्ने एउटा कुरा ‘धार्के वा नौविसेमा’ तुरुन्तै एउटा चार्जर जडान गर्नु पर्छ ।


