काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘एमजी विन्डसर’ नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी जेठको पहिलो साताबाट बिक्री सुरु गर्ने गरी विन्डसर बजारमा ल्याउन लागेको हो ।
कम्पनीका अनुसार भारतमा उत्पादन भएको विन्डर नेपाल आउने क्रममा बाटोमै छ । अबको केही दिनमै भन्सार विन्दुमा आइपुग्ने छ ।
‘नेपालको लागि गाडी हिडेको छ । बजेट अगाडि नै बिक्री सुरु गर्ने हाम्रो योजना छ । विद्युतीय कम्प्याक्ट युटिलीटी भेहिकल सेग्मेन्टमा विन्डसरले राम्रो ब्यापार गर्ने अनुमान गरेका छौं’, पारामाउन्ट मोटर्सका जनरल मेनेजर सुनिल बहादुर क्षेत्रीले मेरोअटोसँग भने ।
भारतीयमा ईभी बजारलाई पुरै परिवर्तन गराउन सफल विन्डसर फराकिलो क्याविन, आधुनिक फिचर र कटिङ एज टेक्नोलोजीमा बनेको बडि डिजाइनको कारण सफल भएको हो । साथै, ब्याट्री रहित कार पनि स्कीममा दिएको कारण धेरै भाडामा चलाउने कम्पनीहरुले विन्डसर खरिद गरेका छन् ।
यस्तो छ नेपाल आउने विन्डसर
एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । सहरी क्षेत्रमा परीक्षण गर्दा यसले ३२७ किलोमिटरसम्म रेन्ज दिएको पाइन्छ ।
विन्डसरमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइटहरु एलइडी प्रयोग भएको छ । अगाडि ठूलो एज प्रयोग गरेर निकै अनौठो लाग्ने डिजाइनमा विन्डसर इलेक्ट्रीक तयार पारिएको छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसलाई लग्जरी बनाउन पछाडिको सिट १३५ डिग्रीसम्म डल्काउन सकिने गरी तयार गरेको छ । नयाँ विन्डसरमा निकै ठूलो पानारोमिक ग्लास रुफ दिइएको छ । इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन छ ।
वायरलेस चार्जर, अटोमेटीक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेविलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।