ओमोडा सी-फाइभ इलेक्ट्रीक तयार, चाँडै नेपाल आउने

काठमाडौं । चेरी अटोमोबाइलको न्यू इनर्जी ब्राण्ड ओमाडाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको ओमोडा ई-फाइभको फेसलिफ्ट मोडल तयार भएको छ । कम्पनीले तयार गरेको नयाँ ई-फाइभलाई अब सी-फाइभ नामबाट ल्याउने भएको हो ।

अहिले बजारमा उपलब्ध ई-फाइभ जस्तै एक्सटेरियर देखिने सी-फाइभमा इन्टेरियरको धेरै फिचर अपग्रेड भएको छ । यसअघिको तुलनामा यसको ड्यासबोर्ड, सिट साइज, लेगरुम लगायतका कुरामा परिमार्जन भएको कम्पनीले जनाएको छ ।

ओमोडा सी-फाइभको राइट ह्याण्ड ड्राइभ पनि तयार भइसकेको छ । चाँडै थाइल्याण्डबाट बिक्री सुरु हुने क्रसओभर मोडल नेपाल पनि चाँँडै आउने छ । नयाँ सी-फाइभमा पनि १२.३ इन्चका दुई स्कृन एक साथ जोडेर इन्फोटेन्टमेन्ट सिस्टम र इन्फर्मेशन डिस्प्ले तयार पारिएको छ ।

कम्पनीले नयाँ एम्वियन्ट लाइट, ५० वाटको फास्ट वायरलेस चार्जर, ३.३ किलोवाटको भेहिकल टु लोड क्षमता, ड्यूल जोन इन्डिपेन्डेन्ट क्लाइमेट कन्ट्रोल सिस्टम दिइएको छ ।

कम्पनीको दावी अनुसार सी-फाइभ इलेक्ट्रीक क्रसओभर कुप्पे एसयूभीमा ७८ प्रतिशत हाई-स्ट्रेन्थ स्टील बडी दिइएको छ । यसमा ९४ प्रतिशत इलेक्ट्रीक ड्राइभ इफिसियन्सी पावर भएको हाइ पर्फमेन्स मोटर दिएको छ ।

ओमोडा सी-फाइभमा कम्पनीले ब्याट्री पनि परिवर्तन गर्ने सम्भावना रहेको छ । कम्पनीले यसलाई ५० र ६१ किलोवाट आवरको ब्याट्री अप्सनमा ल्याउन सक्नेछ । अहिलेसम्म फेसलिफ्ट मोडलको ब्याट्री साइजको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

चाँडै नेपाल आउने

ओमोडा/जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइलले चाँडै सी-फाइभ एसयूभी नेपाल ल्याउने जनाएको छ । सांघाई अटो शोमा पनि प्रदर्शनीमा राखिएको सी-फाइभ एसयूभी पहिलेभन्दा निकै सार्प देखिन्छ ।

‘हामीले बजेट लगत्तै नेपाल ल्याउने गरी काम गरिरहेका छौं । ई-फाइभ नेपालमा निकै सफल मोडल हो । यस्तोमा फेसलिफ्ट मोडल अझै राम्रो भएर आएको छ । आशा छ, यसले अझै राम्रो ब्यापार गर्छ’, एसपीजी अटोमोबाइलका निर्देशक गौरभ सारडाले भने ।

सम्भवत ५० किलोवाट आवर क्षमताको ब्याट्रीमा आउने ओमोडा सी-फाइभ नेपाली बजारको लागि थप रोचक हुनेछ । किनभने यसको मूल्य लङ रेन्ज मोडलको तुलनामा सस्तो हुनेछ ।


Back_to_top