काठमाडौं । नेपालमै एसेम्बल भएसँगै सुजुकी भी-स्ट्रोम २५० को मूल्य १ लाख रुपैयाँले घटेको छ । कम्पनीले आफ्नो एड्भेन्चर मोडलको मूल्य एक लाख रुपैयाँले घटाएको हो ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी भिजी अटोमोवाइलले एड्भेन्चर मोटरसाइकल भी-स्ट्रोम २५० लाई गत भदौ बजारमा ल्याएको थियो ।
कम्पनीले गत नाडा अटो शो २०२४ मा पहिलो पटक ७ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको थियो । २५० सीसी सेग्मेन्टमा केटीएमसँग प्रतिस्पर्धा गर्ने यो मोटरसाइकलको मूल्य अब ५ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको हो ।
नेपालमा बहुप्रतिक्षित रहेको भी-स्ट्रोम २५० को राम्रो ब्यापार गर्न सकेको थिएन । कम्पनीले नेपालमै एसेम्बल थालेसँगै मूल्य घटाएको हो ।
भी-स्ट्रोम २५० एडभेन्चर भी-स्ट्रोम ६५० बाट प्रभावित मोटरसाइकल हो । यसमा २४८ सीसी लिक्विड कुल्ड, फोर स्ट्रोक, प्यारलल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले २५ पीएस पिक पावर तथा २३.४ एनएक पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम क्षमताको भी-स्ट्रोममा १७ इन्च अलोय ह्वील, राउन्ड हेडल्याम्प, डबल डिस्क, एबीएस, फ्रन्ट विन्डसिल्ड, डिजिटल कन्सोल जस्ता फिचर दिइएको छ ।
सुजुकी भी-स्ट्रोम सिरिज ग्लोवल मार्केटमा लोकप्रिय एडभेन्चर मोटरसाइकल हो । नेपालमा पनि भिआईपी सवारीमा प्रयोग गर्न भन्दै नेपाल प्रहरीले भी-स्ट्रोम ६५० खरिद गरेको थियो ।