काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘जेडएस’ २०१९ को सेप्टेम्बरमा वेलायतमा सार्वजनिक गर्ने भएको छ । यसको साथै कम्पनीले नेपाली बजारमा समेत यो एसयूभीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपाली बजारमा एमजीका उत्पादन पारामाउन्ट मोटर्सले आधिकारीक रुपमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा उक्त इलेक्ट्रीक गाडी ल्याउने पक्का भैसकेको जनाएको छ । यद्यपी कुन महिनामा सार्वजनिक गर्ने भन्ने विषयमा भने केही खुलाएको छैन ।
सम्भबत आगामी सेप्टेम्बरमा हुने नाडा अटो शो २०१९ बाट नेपाली बजारमा पनि एमजी जेडएस इलेक्ट्रीकको बिक्री वितरण सुरु हुने अनुमान गरिएको छ ।
बेलायती रेसिङ्ग कारको रुपमा स्थापना भएको एमजीले वार्षिक डिलर मिट कार्यक्रममा उक्त नयाँ एसयूभीलाई बेलायती बजारमा सार्वजनिक गर्ने भएको हो । उक्त कार्यक्रममा डिलरहरुलाई कारको विषयमा विस्तृत जानकारी समेत दिने तयारीमा कम्पनी जुटेको छ ।
तर, चिनियाँ बजारमा भने जेडएसको इलेक्ट्रीक भेरियन्टलाई कम्पनीले २०१८ मा सार्वजनिक गरेको थियो । कम्पनीले निकै सस्तो मूल्यमा ब्रिटिस बजारमा यो कारलाई उतार्ने अनुमान गरिएको छ । नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने बिषयमा अहिले केही खुलाएको छैन ।
कम्पनीले आफ्नो नयाँ एसयूभीलाई एकपटकको चार्जमा ३५० देखि ४६० किलोमिटर रेन्ज प्रदान गर्न सक्नेगरी उत्पादन गरेको जनाएको छ ।

