काठमाडौं । साना कार किन्न चाहनेले बजारमा थुप्रै छनोट पाउने अवस्था सृजना भएको छ । अहिले पनि हेनरी, कोमेट, विलिङ एयर र सेरेसका मिनी ईभी बजारमा किन्न पाइन्छ ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको आयातको आधार मान्ने हो भने हेनरी मिनीको आयात एक यूनिट पनि हुन सकेको छैन । पायोनियर वर्ल्डवाइड प्रालिले बजारमा उपलब्ध गराएको मिनी कार हेनरी अहिले कमैले सोधखोज गर्ने मोडल बनेको छ ।
सन् २०२३ मा १२ यूनिट आयात भएपनि साउनदेखि कार्तिकसम्म मुख्य चाडपर्वको समयमा पनि हेनरी एक यूनिट पनि आयात हुन सकेको छैन । अहिलेकै बिक्रीको आधारमा हेनरी ईभीको भविष्य नै अन्योलमा जान लागेको आँकलन सुरु भएको छ ।
विलिङ एयर मूल्यको कारण धेरै मानिसले चासो नदेखाएको मोडल हो । ईभी नेपाल मोटर्सले सुरुमा २५ लाख ९९ हजार र ३० लाख ९९ हजार मूल्य राखेर बिक्री गर्दा धेरैले यसमा चासो देखाएनन् । अहिले यी दुबैको भेरियन्टको मूल्य घटाएर क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार बनाएसँगै महंगो भेरियन्टको आयात र बिक्रीमा सुधार देखिएको हो ।

राम्रो रेन्ज र उत्कृष्ट पर्फमेन्स रहेको विलिङ एयर साउनदेखि कार्तिकसम्ममा १२ यूनिट आयात भएको छ । कम्पनीले भदौमा ४, असोजमा ३ र कार्तिकमा ५ यूनिट आयात गरेको देखिन्छ । सन् २०२३ को पछिल्लो ७ महिनामा कुल ४४ यूनिट विलिङ एयर आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।

मिनी कार सेग्मेन्टको लिडर भने एमजी कोमेट बनेको छ । बजारमा प्रबेश भएसँगै पारामाउन्ट मोटर्सले आक्रमक मूल्यसहित कोमेटको बिक्री सुरु गरेको थियो । कम्पनीले भदौमा ३६ र असोजमा ५४ यूनिट कोमेट ल्याएको हो । दुई महिनामा नै ९० यूनिट आयात भएसँगै कोमेटले यो सेग्मेन्टलाई नेतृत्व गरेको हो ।
सेरेसको ई–१ मोडल मंसिर लागेपछि मात्रै नेपाल आउन थालेको हो । यसअघि आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले ३ यूनिट मिनी ईभी ल्याएको थियो ।


