साना र कम मूल्यका ईभी किन्नुअघि बुझौँ फाइदा र बेफाइदा

काठमाडौं । अहिले बजारमा उपलब्ध साना ईभी सुन्न जति राम्रो लाग्छ, त्यति कै त्यसका फाइदा र वेफाइदा पनि छन् । विश्वभर नाम चलेका ब्राण्डले उत्पादन गरेका साना कारमा समस्या कम भएपनि हचुवामा आएका स्टार्टअपका मिनी कारहरु धेरैको टाउको दुखाई बनिरहेका छन् ।

अहिले नेपालमा थुप्रै नाम नै नसुनेका ब्राण्डका मिनी ईभी बिक्री भइरहेका छन् । यी ईभी चढ्नेले २–३ किलोमिटर गाडी चलाएर उकालो उक्लेको खण्डमा दुःख पाउन सुरु हुन्छन् ।

कम बजेटमा कार किन्न पाइयो भनेर मिनी कार किन्नेहरु पछुताई रहेका छन् । तर, पछिल्ला दिनमा चल्तीका ब्राण्डले उपलब्ध गराएका साना ईभी तुलनात्मक रुपमा राम्रा र गुणस्तरिय छन् ।

सस्तो मूल्यमा पाइने मिनी कारहरुको फाइदा र बेफाइदा यसप्रकार छन् ।

फाइदा

१. कम बजेट : बजारमा १३ लाखदेखि २० लाख मूल्यमा मिनी कार आउँछन् । यी कारमा ४ जना बसेर यात्रा गर्न मिल्ने भएको कारण धेरैले यसलाई खरिद गरिरहेका छन् । पेट्रोल कार २२ लाख रुपैयाँ घटी नपाउने अवस्थामा इलेक्ट्रीक मिनी कार निकै कम मूल्यमा उपलब्ध छन् ।

२. सानो पार्किङमा सहजै राख्न सकिने : मिनी कारको अर्को फाईदा भनेको थोरै ठाँउमा पार्किङ गर्न सकिनु हो । काठमाडौं लगायत देशका सहरी क्षेत्रमा बढ्दो जग्गाको मूल्यको कारण मानिससँग पार्किङको लागि धेरै स्थान नहुन सक्छ । त्यसको लागि मिनी कारहरु पर्फेक्ट हुन्छन् ।

३. ब्यस्त सडकको लागि उपयोगी : मिनी कारहरु सडकमा चलाउन पनि सजिला हुन्छन् । जाम लाग्ने बाटोहरुमा यसलाई चलाउन निकै सहज हुन्छ ।

४. न्यून संचालन खर्च : एक पटकमा १२ देखि २० यूनिट विजुली खर्च गरेर चार्ज गर्न सकिने यस्ता कारले न्यूनतम १३० किलोमिटरसम्म रेन्ज दिने भएको कारण यसको संचालन खर्च कम पर्छ ।

बेफाइदा

१. उकालोमा तन्न मुश्किल : चल्तीका ब्राण्ड बाहेकका साना कार उत्पादन गर्ने स्टार्टअप कम्पनीले कमजोर मोटरमा मिनी कार ल्याउने गरेका छन् । यी मोटरले उकालो बाटोमा धोका दिन्छ ।

२. ब्याट्री चाँडो हिट हुने : साना मिनी कारको नाममा आउने अधिकांश गाडीमा ब्याट्री तान्ने समस्या देखिन्छ । ब्याट्री तातेपछि वार्निङ ड्यासबोर्डमा देखिन्छ ।

३. रेन्ज दावीको ठ्याक्कै आधा : मिनी ईभीहरुको रेन्ज २०० किलोमिटर माथि रहने दावी सबैले गर्छन् । तर, यथार्थमा त्यसको आधाभन्दा केही बढि मात्रै रेन्ज पाउन सकिन्छ ।

४. निकै स्लो चार्जिङ : छोटा दुरीमा घर र अफिस गर्न प्रयोग गरिने यस्ता साना गाडीमा फास्ट चार्जर लाग्दैन । केहीगरी तपाईले अल्ली पर गाडी लानु भयो र चार्ज सकियो भने तपाईले लामो समय कुरेर चार्ज गर्नु पर्ने हुन्छ । यी कारले कुनै किसिमको फास्ट चार्जर सपोर्ट गर्दैनन् ।

५. सर्भिसमा समस्या : साना कार बिक्रेताको टुङ्गो हुँदै । यस्ता कार बेच्नेहरुको पसलमा कति बेला ताला लाग्छ, एकिन छैन । त्यसैले त्यसमा पनि ध्यान दिन जरुरी हुन्छ ।

६. वारेन्टी कम : साना कार बिक्रेताले दिने वारेन्टी पनि निकै कम छ । उहिहरुले ब्याट्री र मोटरमा ३ देखि ५ वर्षको मात्रै वारेन्टी दिने गरेको पाइन्छ ।


Back_to_top