काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ६५ हजार ४६८ यूनिट दुई पाङ्ग्रे सवारीसाधन आयात भएको छ । विभिन्न कम्पनीले ल्याएको इन्टरनल कम्बस्चन इन्जिन भएका र विद्युतीय गरेर उक्त संख्यामा आयात भएको हो ।
साउनदेखि पुस मसान्तसम्मको समयमा ६१ हजार ८०१ यूनिट पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारीसाधन आयात भएका हुन् । अघिल्लो आर्थिक वर्षको ६ महिनामा यस्ता साधनको आयात ६७ हजार ३४४ यूनिट थियो ।
दुई पाङ्ग्रे साधनको आयात घटेको भएपनि नेपालमै एसेम्बल हुनेगरी भएको आयात भने २७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महिनामा २४ हजार ३१२ यूनिट अन एसेम्वल मोटरसाइकल तथा स्कुटर आयात भएकोमा चालू आवको ६ महिनामा ३३ हजार ७२४ यूनिट मोटरसाइकल अन एसेम्वल अवस्थामा आयात आएको हो ।
सरकारले नेपालमा नै मोटरसाइकल एसेम्वल गर्दा करमा सहुलियतको दिएको कारण नेपालमा नै एसेम्वल प्लान्ट स्थापना गर्ने कम्पनीहरु थपिदै गएसँगै अन एसेम्वल मोटरसाइकल आयात बढ्दो छ ।
पछिल्लो समय बजाज, टीभीएस, रोयल इनफिल्ड, यामाहा जस्ता कम्पनीले नेपालमा नै मोटरसाइकल एसेम्वल गर्दै आएका छन् । हिरोको एसेम्बल प्लान्ट पनि चाँडै संचालनमा आउने भएको छ ।
विद्युतीय दुई पाङ्ग्रे साधनको आयात भने झनै दयनिय देखिन्छ । साउनदेखि पुस मसान्तसम्ममा केबल ३ हजा ६६७ यूनिट विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
गत आवको सोही अवधिमा ५ हजार १३३ यूनिट दुईपाँङ्ग्रे विद्युतीय साधन आयात भएको थियो । नेपालमा चार पाङ्ग्रे विद्युतीय साधनले तिब्र बजार बिस्तार गरिरहेको भएपनि नेपालमा त्यो सम्भव नभएको हो ।
कम गुणस्तरका दुई पाङ्ग्रे साधन जथाभावी आयात हुनु, पार्टस् तथा सर्भिसको सुविधा नहुनु जस्ता कारण विद्युतीय दुई पाङ्ग्रेमा समस्या देखिएको हो ।

