मौद्रिक नीति २०७७/७८: गाडी किन्नेलाई कर्जा सुविधा पहिले कै जस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८को मौद्रिक नीतिले सवारी साधनमा दिइने कर्जाको सिमा बढाउने विषयमा कुनै नयाँ ब्यवस्था गरेको छैन । यसअघि ५० प्रतिशत अनिर्वाय डाउन पेमेन्टको व्यवस्था रहेकोमा यसलाई नै निरन्तरता दिइएको हो ।

करिब २० महिनाअघि ३५ प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने व्यवस्थालाई ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने बनाइएको थियो । यसमा कुनै परिमार्जन नगरि त्यसैलाई निरन्तरता दिइएको छ । ग्राहकले मूल्यको ५० प्रतिशत रकम तिरेर बाँकी रकम कर्जा लिन सक्ने छन् ।

गाडी बिक्रेता कम्पनीहरुले डाउन पेमेन्टमा अस्वस्थ प्रतिस्पर्धामा गर्न थालेसँगै राष्ट्र बैंकमा केही व्यवसायीले गुनासो समेत गर्दै आएका थिए । तर, पनि राष्ट्र बैंकले यसमा कुनै किसिमको परिमार्जन गरेको छैन ।

के भन्छन् गाडी बिक्रेता

‘हामीले ९० प्रतिशत फाइनान्स सुविधा दिनु पर्छ भन्ने माग राखेका थियौं तर, मौद्रिक नीतिले यसमा कुनै निर्णय गरेन । यसले अटो क्षेत्रलाई निरास बनाएको छ’, नाडाका उपाध्यक्ष आकाश गोल्छाले भने ।

अहिले मानिसको आम्दानी घटेको र सामाजिक दुरी कायम गर्नु पर्ने बेलामा समेत सरकारले निजी सवारी साधन किन्न चाहनेलाई कुनै किसिमको सुविधा नदिएकाे व्यवसायीहरुकाे भनाई छ ।


Back_to_top