बाढीले रसुवागढीमा ६० बढी गाडीमा क्षति

काठमाडौं । गएराति चीनतर्फबाट आएको भीषण बाढीले रसुवागढीमा ६० बढी गाडीमा क्षति पुर्याएको छ ।

बाढीका कारण भन्सार यार्डमा राखिएका विद्युतीय सवारी र कन्टेनर गरी करिब ६० वटा गाडी बगाएको अनुमान गरिएको हो ।

रसुवा भन्सार एजेन्ट संघका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदीले भन्सार यार्डमा राखिएका करिब ५० वटा ईभी र १० वटा कन्टेनर बगाएको अनुमान गरिएको बताए ।

‘भन्सार यार्डमा हिजो करिब ६० बढी ईभी थिए । आज ८/१० बाहेक अरु सबै छैनन् । त्यस्तै, ८/९ वटा कन्टेनर पनि देखिँदैनन्,’ उनले मेरोअटोसँग भने, ‘यद्यपि, आधिकारिक तथ्यांक भने आउन बाँकी छ ।’

राति बाढी आएको सूचनापछि २/४ युनिट गाडी सारिएको उनले बताए । अहिले पनि केही कन्टेनर यार्डमै डुबिरहेको अवस्थामा रहेको उनले बताए ।

यता, रसुवागढी प्रहरी चौकीले दिएको जानकारी अनुसार भने हालसम्म ७/८ वटा ईभी गाडी बगाएको पुष्टि भएको छ । साथै, चार्जिङ स्टेसनमा क्षति पुर्याएको छ ।

त्यस्तै, बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । गए राति आएको भीषण बाढीले पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ ।

त्यस्तै, बाढीले रसुवागढी हाइड्रोपावरमा पनि पूर्ण क्षति पुर्याएको छ । बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ ।

क्षतिको थप विवरण आउन बाँकी छ ।


Back_to_top