सरकारलाई सबैभन्दा धेरै राजश्व मोटरसाइकलबाट

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको सवारी साधन आयातबाट सरकारलाई सबैभन्दा धेरै राजश्व दिने मोटरसाइकल भएको छ । चालु आर्थिक वर्षको सात महिनामा १ लाख १७ हजार ८८ युनिट मोटरसाइकल तथा स्कुटर आयातबाट सरकारले भन्सार विन्दुमा १२ अर्ब ३५ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।

यस अवधिमा १४ अर्ब ९ करोड रुपैयाँको दुई पाङ्ग्रे साधनको आयातमा १२ अर्ब ३५ करोड राजश्व संकलन भएको हो ।

पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात संख्या र बाहिर गएको रकम कम भएपनि राजश्व भने धेरै उठाउन सरकार सफल भएको छ । पेट्रोलियम पदार्थबाट चल्ने कार ३ अर्ब ७७ करोड रुपैयाँमा २ हजार ६६८ युनिट ल्याइएको छ । उक्त संख्याको आयातमै सरकारले ९ अर्व ५३ करोड रुपैयाँ राजश्व उठाएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

चालु आर्थिक वर्षको सात महिनामा ६ हजार २५६ युनिट विद्युतीय कारको आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । उक्त संख्याको आयातमा १४ अर्व ७५ करोड खर्च भएको छ । यसबाट राजश्व भने ९ अर्व ४ करोड संकलन भएको देखिन्छ ।

नेपालमा बिक्री हुन आयात भएका निजी प्रयोजनका गाडीबाट सरकारले भन्सार बिन्दुमा ३० अर्व ९२ करोड रुपैयाँ राजश्व संकलन गरेको भन्सार तथ्यांकमा देखिन्छ ।

 


Back_to_top