मोटरसाइकलको व्यापार बढ्दै, वैशाखमा मात्रै भित्रिए १५ हजार बढी युनिट

काठमाडौं । दुईपाँग्रे सवारी साधनको व्यापारमा सुधार आएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा कुल १ लाख १४ हजार १३१ युनिट दुईपाँग्रे आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । गत आवको वैशाखसम्म कुल ९४ हजार ८०० युनिट दुईपाँग्रे सवारी आयात भएको थियो ।

चालु आवको वैशाखसम्म कुल १ लाख ८ हजार २४४ थान पेट्रोलियम बाइक र ५ हजार ८८७ विद्युतीय बाइक तथा स्कुटर नेपाल भित्रिएका हुन् ।

अर्थतन्त्र क्रमशः चलायमान हुन थालेसँगै सवारी साधनको बिक्रीमा पनि सुधार आउन थालेको हो । चालु आवको वैशाखमा मात्रै १५ हजार ३६१ युनिट दुईपाँग्रे नेपाल भित्रिएको छ ।

अन एसेम्बलको आयातमा उछाल

तयारी दुईपाँग्रे सवारीको आयातमा सामान्य सुधार आए पनि अन एसेम्बलको आयातमा भने उछाल आएको छ । चालु आवको १० महिनामा अन एसेम्बल दुईपाँग्रेको आयात ९० प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आवको वैशाखसम्म ६३ हजार १६३ युनिट दुईपाँग्रे अन एसेम्बल आयात भएको छ । जबकी गत वर्ष सोही अवधिमा ३३ हजार ४२७ युनिट मात्रै आयात भएको थियो ।


Back_to_top