काठमाडौं । बजाज पल्सर ‘एन १५०’ नेपाल आउने भएको छ । स्पोर्टी डिजाइन भएको एन १५० मे महिनाको अन्त्यसम्ममा सार्वजनिक हुने भएको हो ।
बाजज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले १५० सीसी सेग्मेन्टमा नयाँ स्पोर्टी डिजाइन भएको पल्सर ल्याउने तयारी थालेको हो ।
बजारमा १५० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीले ग्राहकलाई नयाँ छनोट उपलब्ध गराउन लागेको हो । पल्सर एन १५० निकै स्पोर्टी डिजाइन र यो सेग्मेन्टमा नै धेरै फिचर भएको मोटरसाइकल हुने कम्पनीको भनाई छ ।
पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ ।

नेपाली बजारमा यसको मूल्य कति हुन्छ भन्ने बारेमा अहिले यकिन नभएतापनि कम्पनी स्रोतका अनुसार अन्य प्रतिस्पर्धी मोडलका तुलनामा निकै आकर्षक मूल्यमा मोटरसाइकल ल्याउने तयारी भइरहेको छ ।
नेपालमा बिक्री भइरहेको बजाज पल्सर १५० को मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको छ । पल्सर एन १५० को मूल्य ३ लाख ४० हजारदेखि ३ लाख ५० हजार हाराहारीमा हुन अनुमान गर्न सकिन्छ ।
पल्सर एन १५० को प्रतिस्पर्धी मोटरसाइकल आरटीआर १६० को टप भेरियन्टको मूल्य ३ लाख ७४ हजार ९०० र यामाहा एफजेडएस भी ३ को मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

