काठमाडौं । मोटरसाइकलको सबैभन्दा महत्वपूर्ण पार्टस मध्येको एक टायर हो । उसोत कुनै पनि सवारी साधनको लागि टायरको महत्व सबैभन्दा धेरै रहन्छ ।
टायरले सम्पूर्ण मोटरसाइकल, राइडर र प्यासेन्जरको समेत भार बोकेर हिँड्छ । टायरकै सहयातले सवारी साधनको जमिन (सडक) सँग सिधा सम्पर्क बन्छ ।
त्यसैले सवारी साधनमा जति इन्जिनमा ख्याल गर्छौं, त्यतिनै टायरमा पनि ध्यान दिन जरुरी हुन्छ । साधारणतया मोटरसाइकलको टायर खिइएपछि मात्रै परिर्वतन गर्ने चलन छ । तर, टायर परिर्वतन टेक्नीकल विषयमा ध्यन दिएर गर्नुपर्छ ।
टायर परिवर्तन गर्दा टेक्नीकल कुरामा ध्यान नदिँदा खर्च बढ्ने मात्र होइन दुर्घटाना हुने जोखिम पनि त्यतिकै बढ्न जान्छ । त्यसैले यहाँ मोटरसाइकलको टायर परिर्वतन गर्दा के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा चर्चा गरेका छौं ।
मोटरसाइकलको प्रकार अनुसारको टायर छान्ने
टायर किन्नुअघि तपाईंको मोटरसाइकल कस्तो हो भनेर बुझ्नु पर्छ । यदि तपाईं १०० सीसीदेखि १६० सीसीसम्मको कम्युटर मोटरसाइकल चढ्नुहुन्छ भने तपाईंले धेरै टिकाउ र धेरै माइलेज दिने खालको टायर रोज्नु पर्छ ।
तपाईंसँग स्पोर्टस वा स्ट्रीट मोटरसाइकल छ भने, कर्नरिङ ग्रिप दिने सफ्ट कम्पाउन्ड भएको टायर छान्नु पर्छ । त्यस्तै तपाईं एड्भेन्चर मोटरसाइकलको लागि टायर हेर्दै हुनुहुन्छ भने, अनरोड तथा अफरोडका लागि उपयुक्त हुने डवल पर्पस टायर छान्नु पर्छ । प्योर डर्ट बाइकका लागि टायर हेर्दै हुनुहुन्छ भने गहिरा ब्लक प्यार्टन भएको टायर लिनु पर्छ ।
टायरको साइज
टायर फेर्दा कम्पनीले बनाउँदाको बखत टायर दिएको अंक हेर्न जरुरी हुन्छ । उदाहरणको रूपमा टायरमा लेखिएको नम्बर १००/८०/१७ देख्न सक्छौं । त्यो भनेको टायरको चौडाइ १०० एमएमको ८० प्रतिशतमा काउन्ट गरिन्छ । जुन टायरको चौडाइको एक्स्पेक्ट रेसियो हो ।
१०० एमएम चौडाइको ८० प्रतिशत भनेको ८० एमएम हो । र, अन्तिमको १७ भनेको ह्वीलको साइज हो । यसलाई इन्चमा मेजर गरिन्छ । । नयाँ टायर किन्दा यो मेजरमेन्ट हेरेर नै हाल्नु उपयुक्त हुन्छ । नयाँ टायर किन्दा जुनै ब्रान्डको किने पनि टायर प्रोफाइल भने समान हुनु जरुरी हुन्छ ।

टायर कम्पाउन्ड
टायर कम्पाउन्ड भनेको टायर तयार हुँदासम्म प्रयोग हुने मेटेरियल्सहरू जस्तै रबर, पोलिमर, सिलिका आदी हुन् । यी तत्वहरूको मिश्रणबाट नै टायर तयार हुन्छ ।
तपाईंले मोटरसाइकलको प्रकार र प्रयोग बुझेसँगै टायरको कम्पाउन्ड बुझेर टायर किन्दा धेरै फाइदा हुन्छ । स्पोर्टस मोटरसाइकलका लागि टायर किन्न खोज्नु भएको हो भने सफ्ट कम्पाउन्ड भएको टायर रोज्नु पर्छ ।
सफ्ट कम्पाउन्ड भएको टायरमा राम्रो ग्रिप हुन्छ भने यसको लाइफ कम हुन्छ । माइलेज धेरै दिनका लागि हार्ड कम्पाउन्ड भएको टायर उपयुक्त हुन्छ । यसमा ग्रिप भने कमी हुन्छ । डुअल/स्पेशल कम्पाउन्ड भएको टायरको बीचको भाग हार्ड र एजको भाग सफ्ट हुन्छ । यस्तो टायर टूरिङका लागि राम्रो मानिन्छ ।
उत्पादन मिति
उत्पादन मिति हरेक वस्तुमा महत्वपूर्ण हुन्छ । टायरमा पनि त्यसको महत्व धेरै हुन्छ । टायरमै उत्पादन मिति कोडमा लेखिएको हुन्छ । जस्तै तपाईले रोजेको टायरमा भएको डओटी १२२४ लेखिएको छ भने यो टायर २०२४ को मार्च १८ देखि २४ तारिख भित्रमा उत्पादन भएको हो । २ वर्षभन्दा पुरानो उत्पादन मिति भएको टायर गरिद नगर्नु राम्रो हुन्छ ।

