गाडी बनाउन मोट्रेक्सले राखेका यी हुन् १३ सर्त, नेपालीलाई सधैँका लागि निषेध !

काठमाडौं । सरकारले लगानी सम्मेलनको मुखमा नै १० अर्वभन्दा बढीको लगानी स्वीकृत गरेको खबरहरु बाहिर आयो । लगानी सम्मेलनमा करिब ६०० भन्दा बढी लगानीकर्ता आउने र करिब ३० खर्ब लगानी प्रतिबद्धता आउने आँकलनका बीच कोरियाली कम्पनीले सम्मेलनको पूर्वसन्ध्यामा नेपालमा नै गाडी उत्पादन गर्ने चर्चाले लगानी बजार निकै तात्यो ।

कोरियन कम्पनी मोट्रेक्सको लगानी यसअघि गाडीहरुमा प्रयोग हुने इफोटेन्टमेन्ट सिस्टम निर्माण थियो भने अब उसले नेपालमा गाडी उत्पादन गर्ने योजना अगाडि ल्याएको हो ।

नेपालले औद्योगिक विकासको चरणमा प्रबेश गर्ने जमर्को गरिरहँदा यस्ता कम्पनीहरुले गर्ने लगानी हाम्रो आफ्नै देशमा उत्पादन भएका बस्तु तथा सेवा प्रयोग गर्ने आकांक्षा पुरासँगै यहाँ औद्योगिक वातावरण निकै राम्रो छ भन्ने संदेश प्रदान गर्न सहज हुन्छ । तर, त्यसको ठीक उल्टो त्यस्ता लगानी अन्य कम्पनीलाई निषेध गर्ने किसिमले आउनु सर्वथा गलत हो ।

मोट्रेक्सले राखेको सर्तको पहिलो बुँदामा नै ७ वर्ष मोट्रेक्सलाई बजारमा एकाधिकार दिनु पर्ने र ७ वर्षपछि पनि पूर्णत वैदेशिक लगानी गर्ने कम्पनी जसले १०० मिलियन डलरभन्दा ठूलो लगानी ल्याएको खन्डमा मात्रै त्यसलाई स्वीकृत गर्न सक्ने कुरा उल्लेख गरिएको छ ।

यसले नेपालको निजी क्षेत्रले गाडी एसेम्बलिङमा विदेशी साझेदार खोजेर नेपालमा गाडी उत्पादन गर्ने पाउने ढोका नै बन्द गर्नेछ । जसले हाम्रो औद्योगिककरण मात्र होइन सदाको लागि नेपाली लगानीकर्तालाई यो क्षेत्रमा लगानीको ढोका बन्द हुने अवस्था आउने छ ।

मोट्रेक्सले राखेको अर्को बुँदा झनै रमाइलो छ, उसले गाडी आयात गरेर बिक्री वितरण गर्न पाउनु पर्ने सर्त राखेको छ । यसको मतलव गाडीको ट्रेडिङमा उसले लाईसेन्स खोजिरहेको छ । यी, र यस्ता सर्तले मोट्रेक्सले गाडी बनाउने भन्दा नेपाली बजारमा विशेष अधिकारसहितको गाडी बनाउने लाइसेन्स लिएर बस्ने दाउ गरेको देखिन्छ । 

यस्ता छन्, मोट्रेक्सले राखेका १३ सर्त    

१. सात वर्षसम्म समान प्रकारका अन्य उद्योगलाई लाइसेन्स जारी गर्न नपाउने साथै ७ वर्ष पछि लाइसन्स दिएमा पनि कम्तीमा १० करोड डलरको सतप्रतिशत विदेशी लगानीलाई मात्र दिन पाउने । 

२. कर्पोरेट ट्याक्स, डिभिडेन्डमा ट्याक्स तथा भ्याटमा ५ वर्ष पूर्ण छुटको व्यवस्था गर्नु पर्ने ।

३. बिजुली र अन्य आवश्यक सामग्रीमा छुटको व्यवस्था गर्नु पर्ने ।

४. औद्योगिक क्षेत्र भित्र लाग्ने भाडामा छुटको साथै पहिलो २ वर्षको भाडामा पूर्ण छुट (मोरक्कोमा सरकारले प्लान राख्ने साइट दिने गर्छ) दिनु पर्ने ।

५. सहायक कम्पोनेन्टहरु (पाटपूर्जा,उपकरण तथा विधुतीय सामग्री) उत्पादन उद्योग राख्नका लागि सोही लाइसन्समा अनुमति दिनुपर्ने ।

६. सम्भावीत लकानीकर्ताका साथै रिसर्च तथा सम्भाव्यता अध्ययनका लागि ६ महिनाको नन्टुरीस्ट भिसा दिनु पर्ने । साथै विदेशी लगानीकर्ता र तिनका परिवार तथा विदेशी कामदारहरुलाई उनीहरुको लगानी रहेसम्म कमर्सियल भिसाको व्यवस्ता गरिनु पर्ने ।

७.फ्याक्ट्रीका लागि बाटो, बिजुली तथा पानीको व्यवस्था सरकारवाट हुनु पर्ने ।

८. क्यापीटल सामाग्रीहरु जस्तो मेसिनरी, प्लान्ट, इक्यूपमेन्ट जस्ता सामानको आयातमा पूरा भन्सार छुटको व्यवस्थाका साथै, उक्त सामाग्रीहरु परिवर्तन गर्दा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने । 

९. फ्याक्ट्री निर्माणका क्रममा मोट्रेक्स नेपाललाई दिइएको कोटामा पूर्ण निर्मित वस्तुको आयातमा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने ।

१०. व्यापारीक कार्यका लागि जमिन खरिद गर्ने व्यवस्था तथा सम्पत्ति तथा अन्य करहरुमा पूर्ण छुट हुनु पर्ने ।

११.ट्रेनिङ्ग र रिसर्च तथा डेभलपमेन्ट फेसिलीटीमा कर छुटको व्यवस्था (मोरक्को सरकारले रेनोलाई ट्रेनिङ्ग सेन्टर उपलब्ध गराएको छ) हुनु पर्ने ।

१२. सरकारले अत्यावश्यक उद्योगका रुपमा तोक्नु पर्ने । 

१३. विदेशी कामदारका तलब, भत्ता तथा अन्य आम्दानीहरु विदेशी मुद्रामा उनिहको देशमा लान पाउने व्यवस्था गरिनु पर्ने ।


Back_to_top