काठमाडौं । मोटरसाइकल वा स्कुटरमा सानो स्क्र्याच लाग्दा पनि धेरै मानिसको मन चिसो हुन गरेको पाइन्छ । उपत्यकामा नै बाटोको दुराअवस्थाले मोटरसाइकल तथा स्कुटरको दुर्घटना सामान्य मानिन्छ । उपत्यकाका सडक विस्तार अहिले पनि पुरा भएका छैनन् । यस्ता निर्माणाधिन सडकको हिलो र धुलोले दिनहुँ दुर्घटना हुने गरेका छन् ।
नयाँ मोटरसाइकल किनेपछि त्यसलाई सधै चम्किलो राख्ने प्रयास जो कोहिको हुन्छ तर, अव्यवस्थीत पार्किङ, खराव सडक, चालकको लापर्वाहीले नयाँ किनेका सवारी साधनलाई चाँडै पुरानो जस्तो देखिने बनाउँदै आएका छन् ।

यसरी दुर्घटना भएर आएका मोटरसाइकलका मेकानिकल पाटर्समा केहि समस्या भएको हुँदैन । तर, बाहिरी कलरमा पुगेको क्षतीका कारण नराम्रो देखिन्छ । यसलाई थोरै पैसामा चम्किलो बनाउन उपत्यकामा वर्कसपहरु संचालन भएका छन् ।
उपत्यकामा खुलेका जुनसुकै वर्कसपले डेन्ट पेन्टको काम गर्छु भनेपनि उनिहरुले अर्को पाटीलाई त्योकाम गर्न दिने गरेको पाइन्छ ।
काठमाडौंको विशाल नगरमा विगत १७ वर्षदेखि शंकर अटो वर्कसपको नामले संचालनमा रहेको मोटरसाइकल तथा स्कुटर डेन्ट पेन्ट गर्ने ठाँउमा पुग्दा लाग्छ । यहाँ धेरै दुर्घटना भएका मोटरसाइकल चालकको अनुहारमा खुसी प्रदान गर्ने काम हुन्छ ।

विगत ३३ वर्षदेखि शंकर अटो वर्कसप संचालन गर्दै आएका शम्भु साही भन्छन्, ‘यो मेरो बुबाले सुरु गरेको पेशा हो । अहिले हामी तीन दाजु भाइले फरक फरक स्थानमा यस्तै वर्कसप संचालन गर्दै आएका छौं । मैले विशालनगर ल्याएको १७ वर्ष भयो ।’
बजाज, हिरो र होन्डाका मोटरसाइकल तथा स्कुटर नयाँ आयात गर्दा हुने ड्यामेज पनि आफुहरुले यहि बनाउदै आएको साही बताउँछन् ।
कति लाग्छ मूल्य
सामान्यतया कुनै पाटर्समा ड्यामेज भएर जाँदा त्यसलाई मात्र बनाएको खण्डमा २ हजारदेखि २५ सय रुपैयाँ लाग्ने साही बताउँछन् । पुरै मोटरसाइकल वा स्कुटर पेन्ट गर्नु पर्दा ८ हजार रुपैयाँसम्म लाग्ने उनको भनाई छ ।

एउटा मात्रै पाटर्स पेन्ट गर्दा रिटेल मूल्य जस्तो हुने साहीको भनाई छ । तर, पुरै मोटरसाइकल वा स्कुटर पेन्ट गर्दा होलसेल मूल्य पर्ने र धेरै पाटर्सपनि कम मूल्यमा पेन्ट गर्न सकिने उनी बताउँछन् ।
‘हामी दैनिक ८ वटासम्म मोटरसाइकल तथा स्कुटर डेन्ट पेन्ट गरेर निकाल्न सक्ने क्षमतामा संचालित छौं । अहिले हाम्रा पेन्ट गर्ने कर्मचारी कुनै पनि समय काम नभएर खाली बस्नु पर्ने अवस्था छैन’, संचालक साहीले भने ।
काम गर्ने मान्छेकै समस्या
यो व्यवसायलाई अझै व्यवस्थीत र ठूलो साइजमा संचानलन गर्ने योजना आफुसँग रहेका साहीको भनाई छ । तर, काम गर्ने कामदारको अभावमा ठूलो लगानी थप गर्न कठिन छ ।

कामदारको अभावमा नयाँ मानिसलाई ल्याएर यहिँ काम सिकाउँदै अगाडि बढी रहेको भन्दै साही भन्छन्, ‘कामदारको अभावमा लागनी विस्तार गर्न सक्ने अवस्था छैन । मानिसहरु विदेशमा गएर जस्तो पनि काम गर्न तयार हुने तर, यहि सिप सिकेर काम गर्न कोहि तयार हुँदैनन् ।’
यो क्षेत्र तिब्र गतिमा विस्तार हुँदै गएको छ । जति मोटरसाइकल तथा स्कुटरको आयात बढ्छ, त्यतिनै यो क्षेत्रको संभवना बढ्ने निश्चित छ । यस्तोमा उपत्यकामा खुलेका यस्ता वर्कसपहरु रोजगारीको नयाँ गन्तब्य बन्न सक्छन् ।

