एडीबीको ऋण सहयोगमा मुग्लिन–पोखरा सडक बिस्तार हुने, निर्माणपछि १ घन्टामै पोखरा

काठमाडौं । एसियाली विकास बैंकको ऋणमा मुग्लिन–पोखरा सडकखण्ड निर्माण हुने निश्चित भएको छ । सडक विभागका महानिर्देशक केशव कुमार शर्माका अनुसार छठ लगतै मुग्लिन–पोखरा सडकको प्रकृया सुरु हुने छ । ४ लेनमा विस्तार हुन लागेको सो सडकखण्ड २२ अर्ब ऋण सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) राजी भएको हो । 

‘छठ लगतै मुग्लिन–पोखरा सडक खण्डको काम अघि बढाइने छ, सक्दो चाँडो यो सडकलाई विस्तार गर्ने छौँ’ महानिर्देशक शर्माले भने । 

झण्डै ८२ किलोमिटर लामो उक्त सडकखण्डको ठेक्कामा छानिने कम्पनीले रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्ने, सडक सिमा भित्र पर्ने संरचनाहरु हटाउने लगायतका कामहरु गर्नु पर्नेछ । 

मुग्लिन–पोखरा सडकको विस्तारको काम दुई वटा प्याकेजमा गरिनेछ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरालाई चार लेनमा विस्तार गरिने छ भने दोस्रो चरणमा मुग्लिन आबुखैरेनी खण्डमा विस्तारको काम हुनेछ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर लम्बाई रहेको छ । 

उक्त सडकखण्डमा बजार र बस्ती धेरै भएकाले सर्भिस लेन पनि निर्माण गरिनेछ । सर्भिस लेन बनाइने ठाउँमा ६ लेनको सडक हुने शर्माले बताए । 

सर्भिस लेन भएका ठाउँमा ४० मिटर चौडाई हुने छ भने अन्य स्थानमा २५ मिटर चौडाइ बनाइने छ । 

सडकका बीचमा मेडियन पनि राखिनुका साथै ग्रिनरी वेल्ट समेत निर्माण गरिनेछ । यसरी विस्तार हुने सडकमा पहिलो मापदन्ड सडक दुर्घटना न्यूनीकरण हुने छ । 

पर्यटकीयनगरी पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको यो सडकखन्ड निर्माणमा सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गर्नेछ । सो सडकखण्ड निर्माण गर्ने ठेकेदार कम्पनीले हस्तान्तरण गरेपछि पाँच बर्षसम्म मेन्टेनेन्सको जिम्मा समेत सोही कम्पनीले लिनुपर्ने छ । 

हाल करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडकखण्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ ।


Back_to_top