अटो व्यवसायीको बृहत् भेला सम्पन्न, आन्दोलन र वार्ता सँगसँगै गर्ने निर्णय

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ ।

अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको संभावना आदि विषयमा केन्द्रित भेला पुस ८ र ९ गते सम्पन्न भएको हो ।

सो भेलामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्व अध्यक्षहरू समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्य रुपमा सम्पन्न भएको छ । सो भेलाले बैंकहरूको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिन लगायतका विषयहरूमा समेत छलफल गरेको थियो ।

नाडाका पूर्व अध्यक्षहरू रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा व्यवसायीहरूलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गरेका थिए ।

नाडाका १ न. प्रदेश अन्तर्गत रहेको मोरङ्ग अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेश प्रदेश अन्तर्गत रहेको जानकी अटोमोबाइलस एशोसिएशन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेश अन्तर्गत रहेको चितवन अटोमोबाइलस एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटाैंडा अटोमोबाइलस एशोसिएशनका अध्यक्ष दामोदर प्रसाद अटल, सुदूर पश्चिम अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष पुष्करराज ओझा लगायतले आन्दोलनका सम्बन्धमा आ–आफनो धारणा व्यक्त गरेका थिए ।

सो भेलाले दोस्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघि बढाउने निर्णय समेत गरेको छ । साथै व्यवसायीहरूले राखेको माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेकोे छ ।

छलफलमा सरकारले विगत ८ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरूका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइलस व्यवसायीहरू धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरूले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो ।

नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी २२ गते काठमाडौं लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।


Back_to_top