तयार भयो नेक्सन ईभीको कडा प्रतिस्पर्धी, मूल्यमा भने निकै सस्तो हुने

काठमाडौं । फ्रेन्च अटोमोवाइल ब्राण्ड सिट्रोनले आफ्नो पहिलो भारतीय प्रोडक्ट सीथ्रीलाई इलेक्ट्रीक भर्सनमा ल्याउने पक्का भएको छ । सम्भवतः कम्पनीले आगामी अटो शोमा ई-सीथ्री लन्च गर्नेछ ।

अहिले भारतको सडकमा ई-सीथ्रीको परिक्षण भइरहेको छ । भारतको चेनाईमा चार्ज गरिरहेको अवस्थामा सीथ्री देखिएको हो । टाटा नेक्सनको समान साइजमा तयार भएको सीथ्री मूल्यको हिसावले भने निकै कममा आउने रिपोर्टहरु सार्वजनिक भएका छन् ।

भारतकै सबैभन्दा सस्तो सब फोर मिटर एसयूभी सीथ्रीको इलेक्ट्रीक भर्सनको मूल्य १० लाख भारतीय रुपैया हाराहारी हुने अनुमान गरिएको छ । ई-सीथ्रीले मूल्यको आधारमा टाटाको टियार ईभी शोसरह हुने अनुमान गर्न सकिन्छ ।

सिट्रोनले सीथ्रीमा प्रयोग गरिएको ब्याट्री र मोटरको विषयमा आधिकारीक जानकारी दिएको छैन । यद्यपि विभिन्न रिपोर्टहरुले गरेको दावी अनुसार यसमा ३०.२ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ ।

सिट्रोन सीथ्रीमा एलएफपी ब्याट्री रहने छ । जुन ‘एक्ट्रीम वेदर कन्डिसन’मा समेत सुरक्षित मानिन्छ । सिट्रोनले चाइनीज सप्लाएर एसभोल्टसँग ब्याट्री प्याक सोर्स गरेर काम गरेको हो । सिट्रोन सीथ्रीले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने छ ।


Back_to_top