अटो शोमा सुजुकीले ब्रेजा, स्वीफ्ट र सेलेरियो किन्नेलाई विशेष अफर दिने

काठमाडौं । मारुती सुजुकीका उत्पादन खरिदमा विशेष अफर आउने भएको छ । कम्पनीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले नाडा अटो शोमा गाडी किन्ने ग्राहकलाई विशेष अफर दिने भएको हो ।

कम्पनीले नाडा अटो शोमा गाडी किन्ने ग्राहकले कम्पनीको सर्वाधिक सफल मोडल ब्रेजा, स्वीफ्ट र सेलेरियोमा विशेष छुटको व्यवस्था गर्न लागेको हो ।

‘हामी अटो शोको लागि भिटार ब्रेजा, स्वीफ्ट र सेलेरियोमा अहिलेसम्मकै उत्कृष्ट अफर दिने तयारीमा रहेका छौं’ कम्पनीका मार्केटिङ म्यानेजर करुण शाक्यले भने ।

उनकाअनुसार अहिले के र कस्तो अफर दिने भनेर वर्क आउट भइरहेको जानकारी दिए । 

‘हामी रेगुलर मोडलको अलावा अन्य तीनवटा हाइब्रिड मोडलसमेत अटो शोमा सार्वजनिक गर्ने छौँ’ शाक्यले मेरोअटोसँग भने । 

कम्पनीले अटो शोमा अविश्वसनीय नगद छुट, त्यस बाहेक बिभिन्न छुट दिने तयारी गरेको छ । यसले विगत केही समयदेखि सुस्त रहेको अटो बजारमा नयाँ चहलपहल ल्याउने विश्वास गरिएको छ ।

तीन हाइब्रिड कार सार्वजनिक हुने

मारुती सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले तीन वटा हाइब्रिड कार सार्वजनिक गर्ने भएको छ । मारुती सुजुकीले प्रयोग गर्दै आएको माइल्ड हाइब्रिड इन्जिनमा आएका सियाज, आर्टिगा र एसक्रस गाडी नाडा अटो शोमा सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

सुरुमा हाइब्रिड कारको सहुलियतमा  नेपाल भित्रिएको भएपनि स्मर्ट, माइल्ड र माइक्रो हाइब्रिड इन्जिन युक्त गाडीमा सरकारले भन्सार र अन्तःशुल्कमा छुट नदिएसँगै यि कारहरु रेगुलर आइसी इन्जिन युक्त सरह नै बिक्री वितरण हुने भएको छ । कम्पनी स्रोतका अनुसार यी कारहरु नाडा अटो शोबाट बिक्री सुरु हुने छन् भने यी सबै कार २०१९ मा नै फेसलिफ्ट भएर आएका नयाँ मोडल हुन् । 

सुजुकीले ल्याएको हाइब्रिड कारले विशेषत माइलेजलाई बढाउने काम गर्छ भने जाममा बस्नु पर्दा इन्धन बचाउँछ पनि । कम्पनीले एसक्रस, आर्टिगा र सियाज सबै मोडललाई तीन÷तीन भेरियन्टमा उपलब्ध गराउने जनाएको छ । 


Back_to_top