काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटले आर्थिक स्थायित्वसँगै मुलुकको अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुर्याउने भन्दै नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालले बजेटको प्रशंसा गरेको छ । बजेटले आर्थिक अनुशानलाई उच्च प्राथमिकतामा राखेकाले पनि नाडा यो बजेटबाट उत्साहित रहेको बिज्ञप्तीमा उल्लेख छ ।
‘राजनीतिक एजेन्डा समेटिएको विस्तारित बजेटलाई भन्दा मूलरुपमा अर्थतन्त्रलाई दीगो बनाएर छरितो बजेटलाई प्राथमिकता दिनु अर्थमन्त्री डा युवराज खतिवडाको सफलता हो’ बिज्ञप्तीमा उल्लेख छ ।
नाडाले दिएको धेरै सुझाव यस बजेटमा समावेश गरिएको भन्दै ‘सवारी साधनहरुलाई विलासिताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप व्यवहार गर्दे आएकोमा यस बजेटले १००० सीसीसम्मका सवारी साधनहरु र १५० सीसीसम्मका मोटरसाइकललाई जनताको साधनको रुपमा लिई महशुल नबढाइएको हो, भन्ने हाम्रो ठम्याइ रहेको छ ।’
तर, सरकारले तोकेको उक्त सीसीभन्दा माथिल्लो सीसीका सवारी साधनहरुमा लगाइएको अत्यधिक महशुलको कारणले सरकारको राजश्व प्राप्तिमा मात्र होइन त्यसको व्यवसायमा समेत पर्ने गम्भिर नकारात्मक प्रभावलाई पनि सरकारले उत्तिकै मनन गर्नु पर्ने देखिन्छ ।
वातावरणीय सुधारमा लगानी बढाउने, सडक पूर्वाधारमा लगानी बढाउने, सडकको स्तरन्नोतिमा लगानी बढाउनेलगायतका कुरा बजेटमा आउनु निकै शुखद पक्ष भएको नाडाले जनाएको छ ।
बजेटले कर प्रशासनलाई सुधार गरेर पारदर्शी बनाउने र करका दरलाई समय अनुकुल बनाउन प्रयास गरेको छ तर, सवारी साधनको करमा नयाँ संरचना तयार गर्नु सुखद भएपनि धेरै अन्तशुल्कका कारण सवारीसाधननै नबिक्ने अबस्था आउने देखिदै छ । त्यसैले मुलुकको राजस्व मै प्रतिकुल प्रभाव पर्ने अवस्था आउन नदिन हामी र सरकार विच सहकार्य आवश्यक छ ।