नागढुङगा–नौविसे सुरुङमार्ग निर्माण गर्न चिनीयाँ र जापानीज कम्पनी इच्छुक

काठमाडौं । नागढुङगा–नौविसे सुरुङमार्ग निर्माण गर्न ५ चिनीयाँ र एउटा जापानीज कम्पनीले इच्छा देखाएका छन् । 

सडक  विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले निकालेको ग्लोवल टेण्डरमा ती कम्पनीहरुले आवेदन दिएका छन् । 

महाशाखाका अनुसार अब कम्पनीको प्राविधिक र आर्थिक मुल्याङकन अघि बढाउने तयारी भएको छ । 

महाशाखाले पहिलो पटक गत साउनमा ६० दिने ग्लोवल टेण्डर निकालेको थियो । त्यस अवधिमा कुनै कम्पनीले पनि आवेदन नदिएपछि पुनः १५ दिन समय थप गरेर सुचना निकालिएको थियो । 

अब यी ६ कम्पनी मध्यबाट न्युनतम लागत र उच्च प्रविधि प्रयोग गर्ने कम्पनी छनोट हुने महाशाखाले जनाएको छ । सबै प्रकृया पुरा गरेर आगामी पुस महिनाबाट निर्माणको कामै सुरु गर्ने महाशाखाले तयारी गरेको छ । छनोट हुने कम्पनीले तीन बर्षमा सुरुङमार्ग निर्माण सक्नुपर्ने छ । 

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानको निप्पन इन्जिनियरिङ कन्सल्ट्याण्टले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको हो ।

थानकोट बस्नेतछापदेखि सिस्नेखोला सम्मको २.७ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ । सुरुङमार्गले नागढुङगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किमी बाटो छोट्याउने छ ।

डिपिआर अनुसार सुरुङमार्ग ९.५ मिटर चौडार्इको हुने छ उक्त मार्ग निर्माणका लागि २२ अर्व रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कुल लागत मध्ये १६ अर्व रुपैयाँ जापानिज सरकारको सहुलियत ऋण र ६ अर्व नेपाल सरकारको हुनेछ । सरकारले चालु आर्थिक बर्षका लागि १० अर्व रुपैयाँ बजेट छुट्याएको छ ।


Back_to_top