काठमाडौं । नागढुङ्गा सुरुङमार्गले जग्गा अधिग्रहण गर्दा एक आना जग्गाको ९ देखि ४२ लाख रुपैयाँसम्म मुआब्जा दिनुपरेको छ ।
काठमाडौं तर्फ अर्थात् आयोजनाको पूर्वतर्फको २६७ रोपनी जग्गाको मुआब्जा लिन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले गत असार २६ देखि स्थानीय बोलाएको थियो ।
सुरुङमार्ग निर्माण गर्न काठमाडौंबाट प्रवेश विन्दूको क्षेत्र चन्द्रागिरि नगरपालिकाको साविक महादेवथान, बलम्बु, दहचोक र थानकोटमा पर्ने उक्त जग्गाको लागि मुआब्जा वितरण गरिएको हो ।
ति जग्गाको ६ प्रकारले मुआब्जा निर्धारण भएको छ । सोही निधारण भएको मुआब्जा अनुसार स्थानीयलाई जग्गाको पैसा दिइएको हो ।
यो क्षेत्रमा २८२ कित्ता स्थानीयको, ४४ कित्ता सरकारी र ६२ कित्ता दर्ता नभएको जग्गा रहेको छ । यो सुरुङमार्ग निर्माण गर्दा मुल बाटोमै जोडिएका जग्गाधनीले आकर्षक मुआब्जा पाएका छन भने बाटो नभएको स्थानको लागि पनि राम्रो मुआब्जा दिएको आयोजनाको भनाइ छ ।
यो सुरुङमार्ग बनाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ऋण सहयोग गरेको छ । करिब २० अर्ब रुपैयाँ लागतमा यो सुरुङमार्गमा बनाउन लागिएको हो । जसमा जाइकाले १७ अर्ब रुपैयाँ सहुलियत ऋण दिने छ ।

