सन् २००९ जनवरी १० को दिन दिल्ली मोटर शोमा फर्स्ट लुक्स सार्वजनिक भएको टाटा नानो त्यति बेला निकै चर्चित बनेको थियो । यसको मुख्य कारण थियो यसको मूल्य र अर्को कारण थियो यसको साइज ।
मूल्य र साइज दुबै एकदमै कम रहेको यो कारलाई सुरुवाति दिनमा स्टायडर्ड भेरिएन्टको बिक्री १ लाख भारतीय रुपैयाँमा गरिएको थियो । हेर्दा आर्कषक क्युट लाग्ने यो कारले मोटरसाइकलले भन्दा कम प्रदुषण फैलाउने भनेरसमेत चर्चा पाएको थियो ।
त्यतिबेला कम्पनीले टाटा नानो एसटीडी, नानो एक्सएल र नानो सीएक्स भेरिएन्ट बजारमा ल्याएको थियो । यसमा सबैभन्दा महंगो मूल्य १ लाख ६७ हजार भारु थियो ।
३५ करोडको नानो
कम्पनीले नानो कारलाई ३५ करोड २० लाख नेपाली रुपैयाँ मूल्य पर्ने महंगो कारको रुपमा समेत निर्माण गरेको थियो । सन् २०११ मा निर्माण गरिएको टाटा नानो ८० किलो सुन र १५ केजी चाँदीको प्रयोगबाट बनेको थियो । तर, कम्पनीले यो कारलाई बिक्री वितरणको लागि बजारमा भने पठाएन । यसको मूख्य प्रयोग अटो शोहरुमा गर्ने गरिएको छ ।
टाटाको प्रयास
टाटाले नानोलाई स्टाइलिस देखाउन टुइस्ट मोडलको निर्माण गर्यो । यसमा कम्पनीले २ भेरिएन्ट एक्सटी र एक्स ई उत्पादन गरेको थियो । यसलाई ४ कलर अप्सनमा ल्याईएको थियो । यसको बजारमूल्य २ लाख ४३ हजार भारु निर्धारण गरिएको थियो ।
नानोलाई कम्पनीले अटोमेटिक गियरमा समेत ल्याएको थियो । यो कारलाई कम्पनीले निकै प्रिमियम बनाएको थियो । यस कारमा बस्दा कसैलेपनि यो सस्तो कार हो भन्न सक्ने थिएन ।
यी कुराका बाबजुद पछिल्लो समयमा नानाेको बिक्रीमा गिरावट आएसँगै कम्पनीले पेट्रोल इन्जिनको अलावा डिजेल इन्जिनमा पनि ल्याउने खबर बाहिर आएको थियो । तर, यही वर्षको जुन महिनामा १ यूनिट मात्र नानोको उत्पादन भएपछि अब नानो कार सधैको लागि बन्द हुने अबस्थामा पुगेको आंकलन गरिएको छ ।

