काठमाडौं । डोङफेङ नामी-०१ ह्याचव्याक कार अपग्रेड भएको छ । चिनियाँ बजारमा २०२६ मोडलको रुपमा अपग्रेड भएको नामी-०१ सार्वजनिक भएको हो ।
नामी-०१ को अपग्रेड गरिएको मोडलको मूल्य भने २ हजार डलरले कटौती गरिएको छ । यसअघिको तुलनामा ब्यापक मूल्य कटौतीसँगै चीनमा बीवाइडी सिगलसँग सिधा प्रतिस्पर्धा हुनेछ ।
अहिले नेपाली बजारमा उपलब्ध नामी-०१ को टप भेरियन्ट बीवाइडी एटो वान (सिगल) भन्दा महंगो छ । नेपालमा नामी-०१ को टप भेरियन्ट ३३ लाख ९९ हजारमा किन्न पाइन्छ । जबकी एटो वानको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नामी-०१ कारमा कलर अप्सन थप भएको छ । ड्यूल टोन कलर अप्सन पनि बढाइएको छ । स्प्लीट हेडल्याम्प, थ्रु-टाइप एलइडी डे टाइम रनिङ लाइट, ब्ल्याक कलरको फ्रन्ट बम्पर, फ्रेमलेस डोर, फ्लस टाइप डोर ह्याण्डल, १७ इन्चको ड्यूल टोन ह्वील परिमार्जन भएका छन् ।
गाडीको साइजमा कुनै परिवर्तन भएको छैन । यसको लम्बाइ ४०२० एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम छ । ह्वीलवेस पनि पहिलेकै २६६३ एमएमलाई निरन्तरता दिइएको छ ।
इन्टेरियरमा ५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टच स्कृन, एआइमा आधारित भ्वाइस कमाण्ड, इन्फोटेन्टमेन्टमा ८ जिबी मेमोरी दिइएको छ । लेदर सिट, भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, इलेक्ट्रीक एड्जस्टेवल ड्राइभिङ सिट, ५० वाटको वायरलेस फोन चार्जर पाउन सकिन्छ ।
नामी-०१ मा ३२६ लिटरको बुट स्पेश छ । पछाडिको सिट ढाल्दा बढाएर ९४५ लिटरसम्म बनाउन सकिन्छ । यसमा ५४० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, एकिकृत क्रुज असिस्ट, इमेर्जेन्सी ब्रेकिङ सिस्टम दिइएको छ । यसमा भी टु एल सुविधा पनि उपलब्ध भएको छ ।

