काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर बनाउने भनेको चार्जिङ सेन्टरहरु निर्माण थालनी भएको छ । काठमाडौंको रत्नपार्कमा निर्माण भएको चार्जिङ सेन्टर एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याइएको छ ।
रत्नपार्कको चार्जिङ सेन्टर संचालनमा आएसँगै अहिले बल्खुमा निर्माण कार्य भइरहेको छ । बल्खुको चार्जिङ सेन्टर पनि अबको केही दिन भित्रै संचालनमा आउने प्राधिकरणको चार्जिङ इन्फाष्टक्चर डेभलपमेन्ट प्रोजेक्टले जनाएको छ ।
त्यसैगरी चितवन बसपार्कमा पनि चार्जर राखिएको छ । यहाँको निर्माण पनि पुरा भएकोले यो टीमले अहिले वर्दिवासमा चार्जर राख्नको लागि काम अगाडि बढाएको छ । यता बल्खुमा निर्माण सम्पन्न भएपछि बनेपामा काम सुरु गर्ने तयारी भइरहेको प्रोजेक्टले जनाएको छ ।
कम्तीमा दशैंअघि काठमाडौंको दुई स्थान, बनेपा, खुर्कोट, बर्दिवास, चितवनको नेटवर्क तयार गर्ने प्राधिकरणले लक्ष्य लिएको छ । अहिले चार्जर जडान भएका स्थानमा चार्जिङ स्टेशन निर्माणको काम चीनको वाङबाङ डिजिटल इनर्जीले पाएको थियो । वाङबाङ डिजिटल इनर्जीको नेपाल प्रतिनिधिको रुपमा दिगो ग्रुपले काम गर्दै आएको छ ।
प्राधिकरणले निर्माण सुरु गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डिसी फास्ट चार्जर रहने छ । तर, अहिले कम्पनीले सीसीएस गन जडान गरेको छैन । रत्नपार्कमा संचालनमा आएको चार्जर जिबी/टी गन भएको ६० किलोवाट क्षमताको डिसी र २२ किलोवाट क्षमताको एसी हो । रत्नपार्क लगायत बनेका चार्जिङ नेटवर्कमा चाँडै सीसीएस २ गन पनि जडान हुने दिगो ग्रुपले जनाएको छ ।
यी हुन् चार्जिङ स्टेशन निर्माण हुने ३२ स्थान
प्राधिकरणले निर्माण गर्ने चर्जिङ स्टेशन काठमाडौंको नयाँ बसपार्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय र साझा सेवा बल्खुमा बन्ने छ । यी मध्ये दुई स्थान रत्नपार्क र बल्खु अब लगभग तयार अवस्थामा छन् ।
त्यसैगरी काभ्रेको बनेपा, कन्चपुरको महेन्द्रनगर बसपार्क, प्राधिकरणको कार्यालय अत्तेरीया कैलाली, लम्की बसपार्क कैलाली, कोहलपुर स्मार्ट रिफ्रेश सेन्टर र बाँके बस पार्क छनोट भएर काम अगाडि बढेको छ ।
सुर्खेत बसपार्क, लमही रिफ्रेश सेन्टर दाङ, लमही बसपार्क दाङ, चन्द्रौटा रिफ्रेश सेन्टर कपिलबस्तु, सैनामैना रिफ्रेश सेन्टर रुपन्देही र भैरहवा बसपार्कमा पनि चार्जिङ स्टेशनको काम अगाडि बढेको छ ।
बर्दघाट रिफ्रेश सेन्टर नवलपरासी, लेकसाइड पोखरा, टुरिष्ट बसपार्क पोखरा, पारस बसपार्क भरतपुर, मुग्लिन पुल, हेटौंडा बसपार्क र सिन्धुली बसपार्क सिन्धुलीमा निर्माण हुनेछ ।
त्यस्तै, खुर्कोट रिफ्रेश सेन्टर सिन्धुली, बिरगंज बसपार्क पर्सा, हरिऔंन रिफ्रेश सेन्टर सर्लाही, निजगढ बारा, लाहान बसपार्क, बेलका रिफ्रेश सेन्टर उदयपुर, इटहरी बजार र बिराटनगर ईभी चार्ज केन्द्रगरी कुल ३२ स्थान छनोट भएर काम अगाडि बढेको हो ।