वैशाखमा आए १४३८ युनिट कार, तोडियो बजेट अगाडि गाडी थुपार्ने चलन

काठमाडौं । यो वर्ष बजेट अगाडि नयाँ ईभी ल्याएर थुपार्ने चलन तोडिएको छ । विगतका वर्षहरूमा कर बढ्ने हल्लाका कारण बिक्रेताहरूले वैशाखमै ठूलो संख्यामा गाडी स्टक ल्यार राख्ने गरेको यस वर्ष उक्त परम्परा अन्त्य भएको हो ।

यस वर्ष वैशाखमा गत वर्षकोभन्दा आधा कम मात्रै गाडी आयात भएको छ । भन्सार तथ्यांक अनुसार वैशाखमा केबल १ हजार ४३८ युनिट कार आयात भएको हो । गत वर्ष वैशाखमा ३ हजार युनिट बढी कार भित्रिएका थिए ।

गत वर्षको वैशाख र जेठ १५ गतेसम्मको ४५ दिनमा ५ हजार ८९९ युनिट कार आयात भएको थियो । त्यसमा ८० प्रतिशत माथि ईभीको हिस्सा थियो । यस वर्षको वैशाख महिनामा १ हजार ४३८ युनिट मात्रै आयात भएको छ । बाँकी १० दिनको आयातले अघिल्लो वर्षको संख्या भेट्टाउनै सक्दैन ।

अघिल्लो वर्षको आयात भेट्न अब दैनिक औसतमा ४४६ युनिटका दरले नयाँ कार आयात हुनुपर्छ । जुन सम्भव देखिँदैन । वैशाख महिनामा १ हजार ३४५ युनिट विद्युतीय कार आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।

वैशाखमा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात अत्यन्त न्यून छ । एक महिनाको अवधिमा केबल १०३ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको देखिन्छ ।

गाडी थुपार्ने घटे

केही कम्पनीहरूले गतवर्ष धेरै संख्यामा आयात गरेका विद्युतीय कार अझै पनि बिक्री गरिसकेका छैनन् । सरकारले करका दर परिवर्तन गर्ने पक्का मानेर आयात भएका कारहरू अहिले पनि स्कीम लगाएर बिक्री हुँदै आएका छन् ।

अघिल्लो वर्ष सरकारले करका दर परिवर्तन नगरेको र यस पटक पनि ईभीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने सरकारको धारणा बाहिर आएको कारण आयातकर्ताले स्टक ल्याउने इच्छा देखाएनन् । यसले आवश्यकताभन्दा बढी कार थुपार्ने चलनको अन्त्य भएको छ भने उपभोक्ताले बजेटपछि लाग्ने करकै आधारमा गाडी पाउने भएका छन् ।


Back_to_top