काठमाडौं । नेटा अटोले अन्तर्राष्ट्रिय बिक्री बढाउन ६ अर्ब चिनियाँ युआन (८१८ करोड अमेरिकी डलर) फाइनान्सिङ पाएको छ ।
विगत केही महिनादेखि बिक्री घटेर नेटाको उत्पादन नै बन्द हुने हो कि भन्ने हल्ला चलिरहेको बेला ठूलो लगानी भित्रिएको हो ।
नेटाको उत्पादक कम्पनी होजोन अटोले यस विषयमा कुनै जानकारी नदिए पनि नेटामा सरकारी र विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले लगानी गरेको चिनियाँ संचार माध्यमहरूले जनाएका छन् । नेटामा थप लगानी भित्रिएसँगै अहिलेसम्मको कर्मचारीको तलब सबै चुक्ता गरेको कर्मचारीहरूले बताएका छन् ।
नेटाले सन् २०२३ को जनवरीमा पहिलो कम्पनीको रूपमा सीएटीएलको बेडरक च्यासिस प्रयोग गर्ने सम्झौता गरेको थियो । नेटाको एल क्रसओभर पहिलो पटक सीएटीएलको सोडियम कन्टेन भएको फ्रिभोय ब्याट्री प्रयोग भएको थियो ।
कम्पनीको आज भएको दोस्रो ओभरसिज डिलर तथा इन्भेस्टर कन्फ्रेन्समा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा फोकस रहने र बिक्री दोब्बरले बढाउने जनाएको छ ।
गत वर्ष नेटाले अन्तर्राष्ट्रिय बजारमा ३० हजार भेहिकल बिक्री गरेको थियो । नेटाको हाल विश्वका ४० देशहरूमा १८० वटा बिक्री कक्षहरू रहेका छन्। नेटाको साउथइस्ट एसिया, सेन्टर तथा साउथ अमेरिकामा बलियो उपस्थिति रहेको छ ।