काठमाडौं । चिनियाँ इलेक्ट्रीक सवारी उत्पादन गर्ने स्टार्टअप कम्पनी होजोन मोटर्सले नेटा यू २ कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले चीनबाट विक्री सुरू गरेको यो कम्प्याक्ट एसयूभी निकै प्रिमियम फिचरको साथ बजारमा आएको हो ।
होजोन मोटर्सले चिनियाँ बजारमा नेटा यू २ को मूल्य १८ हजारदेखि २२ हजार डलर तोकेर विक्री सुरू गरेको हो । यो मूल्य चीन सरकारले ईभीमा दिएको अनुदानपछि कायम भएको कम्पनीले जनाएको छ ।
नेटा यू २ को रेन्ज ६१० किलोमिटर रहेको एनईडीसीले प्रमाणित गरेको छ । नेटा यूको विभिन्न सिरिज चीनमा विक्री सुरू भएको छ । ती मध्ये नेटा यू २ सबैभन्दा लेटेस्ट भर्सन हो । यसको लम्बाइ ४५३० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६२८ एमएम रहेको छ । यसमा २७७० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
फिचर लोडेड नेटा यू २ मा इलेक्ट्रीक टेलगेट, पानारोमिक सनरुफ, हिटेड सिट, ब्यूल्ट इन ड्राइभर रेकर्डर जस्ता फिचर पाउन सकिन्छ । होजोनले नयाँ एसयूभीमा २.५ प्लस ड्राइभ एसिस्ट्यान्स सिस्टम दिएको छ ।
नेटा यू २ मोडलमा १७० किलोवाट क्षमताको मोटर दिएको छ । यो कारले शून्यदेखि १०० किलोमिटरको स्पीड केबल ७ सेकेन्डमा पूरा गर्छ ।

