नेटा भी स्कीम: २ लाख ८० हजार डाउन पेमेन्ट, मासिक किस्ता कति ?

काठमाडौं । सिजी मोटर्सले धन्तेसरको दिन सार्वजनिक गरेको ‘धन्तेरस अफर’मा नेटा भी किन्दा २ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्ने स्कीम ल्याएको थियो । सिमित समयको लागि भन्दै आएको यो स्कीम अहिले पनि चालु रहेको छ ।

कम्पनीले ल्याएको स्कीममा नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्नेमा २ लाख ८० हजार तिर्दा पुग्ने हो । डाउन पेमेन्ट बापतको थप ५ लाख कम्पनीले ग्राहकलाई छुट दिने भएको कारण यसलाई २० प्रतिशत पुरै डाउन पेमेन्ट मानिन्छ ।

कम्पनीले डाउन पेमेन्ट वापतको रकममा नै ५ लाख छुट दिएको कारण २ लाख ८० हजार रुपैयाँ नगद हुनेले नेटा भी किन्न सक्ने भएको हो । तर, बाँकी रकम भने बैंकबाट कर्जा लिनु पर्ने हुन्छ । उक्त अफर अन्तर्गत कार खरिद गर्ने ग्राहकले कारसँगै ३.३ किलावाटको चार्जर भने निःशुल्क पाउने छन् ।

यसरी लिएको गाडीको मासिक किस्ता झण्डै ५३ हजार ४०० हाराहारी पर्न आउँछ । अहिले बजारमा ११ प्रतिशत हाराहारी ब्याजदर चलिरहेको र ७ वर्षे किस्तामा कर्जा रकम भुक्तान गर्नु पर्ने हुन्छ । ग्राहकले ३१ लाख १९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ ।

नेटा भीमा ७० किलोवाटको मोटर र ३८.५४ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

आकर्षक फ्रन्ट डिजाइन र हाइटेक क्यावीन फिचर रहेको नेटा भीको ड्यासबोर्डमा १४.६ इन्चको सेन्टर कन्ट्रोल टचस्कृन डिस्प्ले रहेको छ ।

सीजी मोटर्सले यो कारको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । कारको अन्य नन्मुभिङ आइटममा भने कम्पनीले १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।


Back_to_top