मोवाइलबाट अटोमोवाइलमा सर्दै ‘टेक जाइन्ट’हरु

काठमाडौं । विश्वमा मोवाइल उत्पादनमा महारथ हासिल गरेका चिनियाँ कम्पनीहरु अटोमोवाइल उत्पादनमा अग्रसर भएका छन् । त्यसोत अमेरिकी टेक जाइन्ट एप्पलदेखि जापानीज ब्राण्ड सोनीसम्म इलेक्ट्रीक कार उत्पादनमा होमिन लागेका छन् ।

टेक कम्पनीहरुले कार उत्पादनमा चासो दिनुमा ईभीमा बढ्दो इलेक्ट्रोनीक डिभाइस र टेक्नोलोजीको प्रयोगका कारण उनिहरुले आफ्नो दक्षताको प्रयोग गर्न खोजेको देखिन्छ । विद्युतीय कारहरु एक स्मार्ट ग्याजेट जस्तै छन् । त्यसमा टेक जाइन्टको प्रबेशसँगै अटोनोमस टेक्नलोजीको विकास थप तिब्र हुने र निकट भविष्यमै हाम्रा सडकहरुमा चालक रहित कार देखिने दिन अब टाढा छैन ।

ईभीमा बढ्दो अत्याधुनिक इलेक्ट्रोनीक टेक्नलोजीको प्रयोगसँगै विश्वका स्थापित र द्रुत गतिमा बजार विस्तार गरिरहेका टेक कम्पनीहरु ईभीका कम्पोनेन्ट, टेक्नोलोजी इनोभेसनसँगै आफ्नै ब्राण्डमा ईभी बनाउन लागेका छन् ।

ब्याट्री भेहिकल टेक्नोलोजीको विकाससँगै पानाशोनीक, एलजी, सामसुम जस्ता कम्पनीहरुले ईभीको मूख्य कम्पोनेन्ट हाइभोल्टेज लिथियम आयोन ब्याट्री बनाउन थालेको धेरै वर्ष भइसक्यो ।

विश्वको सबैभन्दा भ्यालुएवल टेक कम्पनी एप्पलले इलेक्ट्रीक कार बनाउने हल्ला चलेको पनि धेरै वर्ष भइसक्यो । तर, मूर्त रुपमा भने अहिलेसम्म अगाडि आएको छैन ।

त्यस्तै चीनको अलिवावा ग्रुप, फक्सकन, वाइडु, वेमो, ओप्पो, डीडी जस्ता टेक कम्पनीहरु ईभी कम्पोनेन्ट र नयाँ टेक्नोलोजी सोलुसनको विकास गर्न व्यस्त रहेका छन् ।

जापनीज टेक जायन्ट सोनी, चाइजीन टेक्नलोजी सलुसन प्रोभाइडर हुवावे र अर्को चाइजीन इलेक्ट्रोनीक्स कम्पनी साओमी भने आफ्नै ब्राण्डको ईभी निर्माण गर्न व्यस्त रहेका छन् ।

हुवावे टेक्नोलोजी

हुवावेले चिनियाँ अटोमोवाइल कम्पनी सेरेससँगको सहकार्यमा सन् २०२१ बाटै ईभी विकासमा काम गरिरहेको छ । दुई कम्पनीको संयुक्त लगानीमा आइटो ब्राण्डको पहिलो ईभी सन् २०२२ को सेप्टेम्बरमा ‘आइटो एम–५’ लन्च गरेको थियो ।

हुवावेले चेरी, बीएआईसी मोटर, चांगान मोटर्स, जेएसी मोटर्ससँग पनि ईभी विकासमा सहकार्य गरिरहेको छ ।

कम्पनीले हालै मात्र चेरीसँगको सहकार्यमा अर्को ईभी लन्च गरेको छ । कम्पनीले लन्च गरेको लक्सीड एस७ सेडान कारको मूल्य ३५ हजार ४०० डलर राखेर प्रिसेल सुरु गरेको छ । टेस्लाको मोडल एससँग प्रतिस्पर्धा गर्ने यो कार ८०० भोल्ड प्लेटफर्ममा बनेको हो ।

यो कारमा सीएटीएलले बनाएको विश्वको सबैभन्दा पातलो ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्रीलाई जम्मा १५ मिनेट चार्ज गर्दा ४०० किलोमीटरको रेन्ज पाउन सकिने कम्पनीले दावी गरको छ ।

हुवावेले यहि नोभेम्बरमै अर्को चिनियाँ कम्पनी चांगानसँगको सहकार्यमा अर्को ईभी अभतार १२ लन्च गरेको छ । ४१ हजारदेखि ५५ हजार डलर मूल्य हुने यो ईभी डिसेम्बर महिनाबाटै डेलिभरी सुरु हुनेछ ।

हुवावेको लाइडार सेन्सरहरु प्रयोग भएको कारको एडास सिस्टमले ९९.९ प्रतिशत अब्जेक्टहरु डिटक्ट गर्न सक्नेछ । स्पोट्स सेडान डिजाइनमा बनेको कारमा हार्मोनी ओएस४ वा गुगल अपरेटीङ सिस्टम दुबैबाट चल्नेछ । यसमा ‘इनोभेटीभ क्यामरा वेस्ड रियर भ्यू मिरर’ जस्तो नयाँ फिचर पाउन सकिन्छ ।

साओमी ईभी

अर्को चिनियाँ टेक कम्पनी साउमी पनि आफ्नै ब्राण्डमा ईभी बनाउन लागिपरेको छ । कम्पनीले बनाइरहेको पहिलो इलेक्ट्रीक सेडान साओमी एसयू ७ को डिटेल बाहिर आएको छ । साओमीले बीएआइसीको प्लान्टमा निर्माण गर्ने योजना बनाएको उक्त सेडान ५ मिटर लामो रहेको छ ।

साओमी एसयू७ को लम्बाई ४९९७ एमएम, चौडाई १९६३ एमएम, उचाई १४५५ एमएम र ३००० एमएमको ह्वीलवेस छ । कम्पनीले यो कारमा १९ र २० इन्चको ह्वीलको अप्सन दिएको छ ।

साओमीले दुई फरक भर्सनमा बनाउन लागेको यो कारमा विण्डसिल्डको पछाडि लाइडर तथा बिपील्लरमा क्यामरा समेत रहेको छ । जसको सहायताले फेस रिकग्नीसनमै अनलकल समेत गर्न सकिने रहेको छ । इलेक्ट्रोनीक्स कम्पनी साओमीले बनाएको यो कारमा अटोनोमस ड्राइभिङ सिस्टम, सफ्टवेर इकोसिस्टम र ८०० भोल्ड फास्ट चार्जिङ सपोर्ट गर्ने छ ।

सोनी कार

जापनीज टेक कम्पनी सोनीले ‘सोनी मोविलीटी इंक’ नामको नयाँ कम्पनीनै स्थापना गरेर ईभीको विकास गरिरहेको छ । सोनीले सन् २०२० मै लस भेगासमा भएको कन्जुमर इलेक्ट्रोनीक्स शोमा भिजन ‘एस कन्सेप्ट’ कार देखाएको थियो ।

पछिल्लो समयमा सोनीले जापानीज अटोमोवाइल कम्पनी होन्डासँगको सहकार्यमा नयाँ जेनेरेसन टेक्नोलोजी भएको ईभी बनाइरहेको छ । यसमा सोनीको अत्याधुनिक सेल्फ ड्राइभ सेन्सरको प्रयोग हुने जनाइएको छ । सोनीको सेमीकन्डक्टर सोलुसन प्रयोग हुने यो सेन्सरले ७० प्रतिशत कम इलेक्ट्रीसीटी प्रयोग गर्ने जनाइएको छ ।

सोनी–होन्ड मोविलीटीले सन् २०२२ मै जोयन्ट भेन्चरमा ब्याट्री इलेक्ट्रीक भेहिकल बनाउने घोषणा गरेसँगै लेवल थ्री अटोनोमस टेक्नलोजी हुने ईभी बनाउने घोषणा गरेका थिए ।

कम्पनीले नयाँ प्रोडक्टको रुपमा २०२३ को जनवरीमै अफिला ईभीको प्रोटोटाइप देखाएको थियो । यो कारमा सेफ्टी र सेक्यूरीटीको लागि भित्र र वाहिर गरी ४५ वटा क्यामरा र सेन्सरको प्रयोग भएको छ । यो कारको प्रिअर्डर सन् २०२५ मा सुरु हुने र सन् २०२६ बाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top