काठमाडौं । भनिन्छ नेपालमा इलेक्ट्रीक गाडीको स्वीकार्यता विकसित राष्ट्रकोभन्दा पनि राम्रो छ । संसारभर ईभी किन्ने मानिस वातावरणप्रति बढी सचेत रहेर किनेको पाइन्छ । यहाँको कारण छुट्टै छ । यहाँ आफ्नो देशमा बनेको बिजुलीलाई इन्धनको रूपमा प्रयोग गर्न सकिने र सरकारी कर पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा कम भएको कारण ईभी छनोट धेरै हुने गरेको छ ।
सरकारी करको कारण नेपाली बजारमा ग्यासोलिन गाडीभन्दा सस्तो भएकोले ईभी किन्न धेरै मानिसले इच्छा देखाएका छन् । चलाउन सहज र संचालन लागत न्यून रहेको कारण ईभीले जो कोहीलाई लोभ्याउँछ ।
नेपाली नागरिकलाई ईभी भन्ने बित्तिकै मनमा दुईवटा सवाल आउने गर्छ । पहिलो, एक पटकको फुलचार्जले कति रेन्ज दिन्छ रु दोस्रो, ईभीको तल फ्लोरमा ब्याट्री प्याक हुने भएकोले यसको ग्राउण्ड क्लियरेन्स कति हुन्छ रु स्वभाविक रूपमा सबैमा आउने यस्ता सवालहरूले ईभीमा परिवर्तन हुन चाहने धेरै जनालाई हिचकिचाहट पैदा गर्दै आएको छ ।
हामीले पनि विगत ५ वर्षको अवधिमा धेरै ब्राण्डका ईभी टेस्ट ड्राइभ गरिसकेका छौं । नयाँ गाडी लन्च हुँदा गरिने यस्ता छाेटा टेस्ट ड्राइभमा कम्पनीले क्लेम गरेको रेन्ज दिन्छ भन्ने मान्यता राखिएको हुन्छ । हामीले यो पटक नेपाली बाटाहरूमा चलिसकेको ईभीको लामो हाइवे टेस्ट ड्राइभ गर्ने जमर्को गरेका छौं ।

हामीले यो श्रृंखलामा चीनको स्टार्टअप कम्पनी होजोन मोटरले उत्पादन गरेको नेटा भीको टेष्ट ड्राइभ गरेका थियौं । नेटा भीको वनावट विशेषतः अमेरिकी लग्जरी ईभी ब्राण्ड टेस्लाको मोडलबाट प्रभावित भएको देखिन्छ । अगाडिको फेसिया तथा ड्याबोर्डमा रहेको ठूलो साइजको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्लेले टेस्लाको झझल्को दिन्छ ।
कम्प्याक्ट क्रसओभर डिजाइनमा बनेको नेटा भीमा ३८.५४ किलोवाट आवरको एनसीएम ब्याट्री प्याक र पावरको लागि ७० किलोवाटको मोटर दिइएको छ । सीजी मोटर्सले नेटा भीमा ठूलो साइजको टायर दिएकाले यसको ग्राउण्ड क्लियरेन्स १६० एमएमबाट बढेर १७० एमएम पुगेको कम्पनीको दाबी छ ।
सडकमा करिब २ हजार किलोमिटर माथि गुडिसकेको नेटा भी हामीले टेस्ट ड्राइभ गरेका हौं । सबै किसिमको बाटोमा चलाएर हेर्ने चाहना अनुसार काठमाडौं, मूलकोट, सिन्धुली, बर्दीबास, जनकपुर, सर्लाहीको भरतताल हुँदै काठमाडौं फर्केका थियौं । करिब ३ दिनको हाम्रो यात्रामा उकालो, ओरालो, कच्ची, हाइवे र तराई भूभागमा हामीले यसलाई गुडाउने मौका पायौं ।

यो ड्राइभमा ईभीले उकालो चढ्न थालेपछि कति ब्याट्री कन्जुम गर्छ, ओरालोमा कसरी रि–जेनरेट हुन्छ रु साथै, हाइवेमा स्पीड लिँदा कति रेन्ज दिन्छ र तराईमा एसी चलाउँदा रेन्ज कति आउँछ रु भन्ने जिज्ञासाको उत्तर हमीले पायौं ।
रेन्जका कुरा
हाम्रो यात्रा नेटा भीको हात्तीवनस्थित सर्भिस सेन्टरबाट १०० प्रतिशत चार्ज सहित सुरू भयो । उक्त समयमा गाडीको ड्यासबोर्डमा २०९० किलोमिटर गुढेको र फुलचार्ज रहको ड्यासबोर्डको इन्फर्मेशन डिस्प्लेमा देखिएको थियो ।
हाम्रो टेस्ट ड्राइभमा यसले सिंगल चार्जमा ३८५ किलोमिटर रेन्ज दिने देखियो । हामीले हात्तीवनबाट सातदोबाटो, कोटेश्वर, भक्तपुर, बनेपा हुँदै धुलिखेलसम्मको यात्रा गरी पहिलो ब्रेक लियौं । सहरी बाटो भएकोले निकै धेरै ट्राफिकमा विस्तारै चलायौं । साथै, सहरी क्षेत्र भएको कारण झ्याल बन्द गरेर एसी चलाएका थियौं ।
धुलिखेलसम्मको २९ किलोमिटर यात्रामा १२ प्रतिशत ब्याट्री खर्च भएको थियो । धुलिखेलबाट मूलकोटसम्मको सडक प्रायः ओरालो छ । त्यहाँ गाडीको रिजेनेरेशन ब्रेकिङले राम्रो काम गर्छ । यसको सहयोगमा हामी मूलकोटसम्मको ९१ किलोमिटर यात्रा गर्दा केबल २४ प्रतिशत ब्याट्री खर्च भएको थियो । काठमाडौंबाट मूलकोटसम्मको यात्रामा ५० प्रतिशत स्थानमा एसी प्रयोग गरेका थियौं ।

काठमाडौंदेखि मूलकोटसम्म पुग्दा ४-५ स्थानमा डाइभर्सन गरिएका कच्ची बाटो छन् । ग्राउन्ड क्लियरेन्स यही परीक्षण भयो । ती स्थानमा गाडी छुने समस्या भएन ।
मूलकोटमा डीसी फास्ट चार्जिङ स्टेशन छन् । तर, हाम्रो गाडीमा ७६ प्रतिशत चार्ज बाँकी रहेकाले त्यहाँ रिचार्ज गरेनौं । मूलकोटपछि हाम्रो अर्को स्टप सिन्धुलीको खनियाखर्कमा भयो । यो बाटोमा सेतीदेवीको उकालो तथा खुर्कोटको चर्चित २२ घुम्तीको उकालो पार गरेर खनियाखर्क पुग्दा अझै ५७ प्रतिशत चार्ज बाँकी थियो ।

काठमाडौंबाट खनियाखर्कसम्मको कुल दूरी १२४ किलोमिटर यात्रा केबल ४७ प्रतिशत ब्याट्रीमा भयो । काठमाडौं जनकपुरको रुटमा खनियाखर्क सबैभन्दा अग्लो स्थानमा रहेको ठाँउ हो । यहाँ पुगेपछि धेरै आरालो बाटो भएकोले बिना रिचार्ज हामी जनकपुर पुग्ने कुरामा ढुक्क भयौं ।
खनियाखर्कपछि हाम्रो अर्को गन्तव्य थियो बर्दीबास । बर्दीबास पुग्दा गाडीमा ४८ प्रतिशत चार्ज बाँकी थियो । बर्दीबासबाट पूर्व पश्चिम लाग्ने बाटो छुटिन्छ । हामी लाग्यौ पूर्वतिर । ढल्केबर हुँदै साँझ जनकपुर पुग्दा गाडीमा अझै ३८ प्रतिशत ब्याट्री चार्ज बाँकी थियो । ड्यासबोर्डमा २३०४ किलोमिटर गुडेको जानकारी प्राप्त थियो ।

काठमाडौंको हात्तीवनबाट जनकपुरसम्मको २१५ किलोमिटरको यात्रा नेटा भीमा जम्मा ६२ प्रतिशतको चार्जमा पुग्दा यसको रेन्जले सन्तुष्ट बनायो । उकालो, ओरालो, कच्ची र आवश्यक स्थानमा एसीको भरपुर प्रयोग गर्दा तथा ११० किलोमिटर प्रतिघण्टाको स्पीडसम्म चलाउँदा नेटा भीले दिएको रेन्ज उत्कृष्ट मान्नन सकिन्छ ।
बाँकी रहेको ३८ प्रतिशत चार्जले १५५ किलोमिटर गुडाउन पुग्ने संकेत ड्यासबोर्डमा थियो । हामीले त्यसलाई १३५ किलोमिटरको बेन्चमार्क मानेर सिंगल चार्जमा ३५० किलोमिटर गुडाउन सकिने हिसाव निकालेका हौं ।
अझ यसलाई रेन्ज बढाउनैको लागि ५०-६० को स्पीडमा चलाउने हो भने ३७० किलोमिटरम्म सहजै रेन्ज पाउन सकिने हाम्रो अनुभव रह्यो ।

